काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाट पक्राउ परेका छन्।
बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले आयोजना गरेको बैठकमा सहभागी भएका तामाङलाई बैठक सकिएलगत्तै प्रहरीले पक्राउ गरेको हो।
काठमाडौं प्रहरीका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार अरुण अर्यालको जाहेरीका आधारमा तामाङविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएको थियो। उक्त मुद्दा दरबारमार्ग प्रहरी वृत्तमा दर्ता भएको हो।
प्रहरीले तामाङलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतबाट एक दिनअघि नै अनुमति लिएको थियो। अनुमति पाएपछि उनलाई सिंहदरबारबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।
