काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन्। उनलाई प्रहरीले सोमबार सिंहदरबारभित्रैबाट पक्राउ गरेको हो।
बाढी प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले गरेको छलफलमा सहभागी भएर बाहिरिने क्रममा तामाङलाई पक्राउ गरिएको हो। पक्राउपछि उनलाई प्रहरी वृत्त दरबारमार्गमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीका अनुसार अरुण अर्यालको जाहेरीका आधारमा नेपाल सरकार वादी र वीरबल तामाङ प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दा दरबारमार्ग प्रहरी वृत्तमा दर्ता भएको थियो। अनुसन्धानका क्रममा उनलाई पक्राउ गर्न प्रहरीले गत वैशाख २८ गते काठमाडौं जिल्ला अदालतसँग अनुमति मागेको थियो।
जाहेरी तथा बैंक विवरणबाट घटनामा संलग्नता देखिएको भन्दै प्रहरीले पक्राउ अनुमति मागेपछि अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९(३) बमोजिम पक्राउ पुर्जी जारी गर्न अनुमति दिएको थियो।
किस्पाङ–३ का स्थायी बासिन्दा तामाङले काठमाडौंको नयाँबजारमा ओशिन ट्रान्सपोर्ट एन्ड एडभेन्चर सञ्चालन गर्दै आएका छन्। उनीमाथि ठगीसम्बन्धी थप आरोपसमेत रहेको बताइएको छ।
