• Monday 5th of October 2026

सिंहदरबारबाट पक्राउ परेका वीरबल १० वटा मुद्दाका फरार प्रतिवादी भएको खुलासा


  • धनकुटा खबर
  • .

काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङविरुद्ध बैंकिङ कसुरसम्बन्धी १० वटा मुद्दा रहेको खुलेको छ। ती मुद्दामा उनी फरार प्रतिवादीका रूपमा रहेको प्रहरीले जनाएको छ।

तामाङलाई सोमबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सिंहदरबारमा बोलाएको बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँगको छलफलबाट बाहिरिने क्रममा प्रहरीले पक्राउ गरेको थियो। उनीविरुद्ध परेको ५ लाख २५ हजार रुपैयाँको बैंकिङ कसुरसम्बन्धी जाहेरीका आधारमा पक्राउ गरिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार प्रहरीमा जाहेरी परेर अनुसन्धान पूरा गरी सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइएका १० वटा मुद्दामा तामाङ फरार देखिएका छन्।

प्रहरीका अनुसार सुनमाया घर्तीको जाहेरीमा ३ करोड ४ लाख रुपैयाँ, हेराकाजी बाडेको जाहेरीमा १ करोड ३ लाख ३० हजार, बहादुर बगालेको ४८ लाख, विजय सिंह लामाको ९५ लाख, सम्पूर्ण घर्ती मगरको २ करोड ५६ लाख, दलबहादुर आलेको ७५ लाख र सुमर तामाङको २ लाख रुपैयाँ बिगो दाबीका मुद्दा छन्। सृजना तामाङको जाहेरीसमेत रहेको तर जेनजी आन्दोलनका क्रममा फाइल जलेकाले बिगो रकम खुल्न नसकेको प्रहरीले जनाएको छ।

सुनमाया घर्तीको ३ करोड ४ लाख रुपैयाँको मुद्दामा तामाङ २०८२ फागुन ५ गतेदेखि फरार रहेको प्रहरीको भनाइ छ। उनको काठमाडौंको नयाँबजारमा ओशिन ट्रान्सपोर्ट एन्ड एडभेन्चर प्रालि रहेको र कम्पनीको आर्थिक कारोबारमा समस्या आएपछि उनीविरुद्ध मुद्दा परेको बताइएको छ।

पक्राउ परेका तामाङलाई प्रहरी वृत्त दरबारमार्गमा राखेर थप अनुसन्धान भइरहेको एसएसपी घिमिरेले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖