काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट कारबाहीमा परेका उद्धव थापाले पार्टीको निर्णयविरुद्ध केन्द्रीय कार्यालय घेराउ गर्ने तयारी गरेका छन्।
थापाले सामाजिक सञ्जालमार्फत भदौ ३१ गते बिहान ११ बजे धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालयमा उपस्थित हुन राष्ट्रवादी साथी तथा सरोकारवालालाई आह्वान गरेका छन्।
आफूमाथि अन्यायपूर्ण कारबाही भएको दाबी गर्दै उनले कारबाही फिर्ता, संगठनात्मक एकता र निर्वाचित जनप्रतिनिधिको सम्मान कायम गर्न माग गरेका छन्।
यसअघि राप्रपाले काठमाडौं, चितवन, दोलखा र धादिङका कार्यसमितिलाई पत्राचार गर्दै कारबाहीमा परेका तथा कारबाही प्रक्रियामा रहेका व्यक्तिलाई पार्टीका कुनै पनि निकायमा समावेश नगर्न निर्देशन दिएको थियो।
बागमती प्रदेशमा सरकार गठनका क्रममा पार्टी केन्द्रको नीतिविपरीत एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको आरोपमा थापासहितका नेतामाथि कारबाही गरिएको थियो। थापाको कार्यालय घेराउ गर्ने तयारीसँगै राप्रपाभित्रको आन्तरिक विवाद थप सतहमा आएको छ।
