• Sunday 4th of October 2026

नेतृत्व नछाड्ने पक्षमा प्रचण्ड, मंसिरमा हुने भनिएको एकता महाधिवेशन अन्योलमा


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को मंसिर ११ देखि १५ गतेसम्म गर्ने भनिएको एकता महाधिवेशन अन्योलमा परेको छ।

वैशाखमा केन्द्रीय संयोजन समिति बैठकले महाधिवेशनको कार्यतालिका अनुमोदन गरे पनि निर्धारित कार्यप्रगति हुन सकेको छैन। पार्टीभित्र वैचारिक, सैद्धान्तिक र सांगठनिक विवाद कायम रहनु तथा सदस्यता नवीकरण र तल्ला तहका अधिवेशन अघि बढ्न नसक्दा निर्धारित समयमा महाधिवेशन हुने सम्भावना कमजोर बनेको हो।

पार्टीका केही नेताले मंसिरमा महाधिवेशन नहुने दाबी गरेका छन्। वरिष्ठ नेता झलनाथ खनालले पनि पहिले पार्टीको नीति, सिद्धान्त, कार्यदिशा र रणनीतिबारे स्पष्ट धारणा बनाउनुपर्ने भन्दै मंसिरमा महाधिवेशन गर्न कठिन रहेको बताएका छन्।

तर पार्टी प्रवक्ता प्रकाश ज्वालाले भोटेकोशी–त्रिशूली बाढीका कारण अधिवेशन प्रभावित भए पनि महाधिवेशनको मिति प्रभावित नहुने गरी कार्यतालिका फेरबदल गर्ने बताएका छन्। उनका अनुसार यसबारे छिट्टै केन्द्रीय संयोजन समितिको बैठक बस्नेछ।

नेकपाका करिब ७ लाख ५० हजार संगठित सदस्यमध्ये भदौ मसान्तसम्म करिब २ लाख २५ हजारले मात्र सदस्यता नवीकरण गरेका छन्। पार्टीभित्र माओवादी र एकीकृत समाजवादी पृष्ठभूमिका नेताबीच वैचारिक मतभेद, सांगठनिक समायोजन तथा नेतृत्व हस्तान्तरणको विषयसमेत विवादमा छ।

पार्टीभित्रकै नेताहरूले भने महाधिवेशनमार्फत यस्ता वैचारिक र सांगठनिक मतभेद टुंगो लगाउन सकिने बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖