काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन गर्न बनेको विधेयक संसद्मा लैजाने तयारी भएको छ।
कानुनमन्त्री सोबिता गौतमका अनुसार प्रस्तावित विधेयकमा आमालाई कम्तीमा ६ महिना र बुबालाई ४२ दिनसम्म तलबसहितको बिदा दिने व्यवस्था गरिएको छ।
मन्त्री गौतमले सामाजिक सञ्जालमार्फत नवजात शिशु र परिवारका लागि अभिभावकलाई पर्याप्त समय दिनु राज्यको जिम्मेवारी भएको बताएकी छन्।
बच्चा जन्माउने प्रक्रिया आमासँग जोडिए पनि बच्चा हुर्काउने जिम्मेवारी आमाको मात्र नभएको उल्लेख गर्दै उनले अभिभावकत्व संयुक्त जिम्मेवारी भएको बताएकी छन्।
विधेयक मन्त्रिपरिषद्बाट पारित गराएर संसद्मा पेस गर्ने तयारी भइरहेको जनाइएको छ।
