• Sunday 4th of October 2026

एमालेले ग्यास लुकाएको भनेर प्रचार भएपछि…


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा (एमाले) ले ‘एमालेले ग्यास लुकायो’ भन्दै सामाजिक सञ्जालमा भइरहेको प्रचार भ्रामक र सुनियोजित दुष्प्रचार भएको प्रस्ट पारेकाे छ।

एमालेले दैनिक उपभोग्य सामग्रीको आपूर्ति तथा व्यवस्थापन गर्न नसकेको, कालोबजारी नियन्त्रणमा असफल भएको र सर्वसाधारणलाई सहज रूपमा ग्यास उपलब्ध गराउन नसकेको आरोप लगाउँदै वर्तमान सरकारले आफ्नो कमजोरी ढाकछोप गर्न विषयान्तर गरेको जनाएको छ ।

पार्टीले ललितपुरको पौडेल थरका व्यापारीसँग सम्बन्धित पुरानो तथा असम्बन्धित भिडियोलाई एमालेसँग जोडेर सामाजिक सञ्जालमा प्रचार गरिएको भन्दै मंगलबार आपत्ति जनाएको छ । उक्त भिडियो एमालेको बदनाम गर्ने उद्देश्यले सुनियोजित रूपमा प्रचार गरिएको एमालेकाे दाबी छ।

एमालेका कुनै पनि सदस्यले ग्यास लुकाएको भन्ने आरोप पुष्टि गर्ने तथ्य वा प्रमाण नरहेको पार्टीले जनाएको छ । पार्टीको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले झुटा सूचना, अफवाह तथा भ्रम फैलाउने व्यक्ति तथा समूहलाई त्यस्ता गतिविधि तत्काल बन्द गर्नसमेत चेतावनी दिएको छ ।

यस्ता गतिविधिमा संलग्न व्यक्तिको पहिचान गरी कानुनबमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा उजुरी तथा निवेदन दायर गर्ने एमालेले जनाएको छ । साथै, भ्रामक सूचना फैलाउने कार्यमा संलग्नहरूको ‘डिजिटल निगरानी’ भइरहेको पनि पार्टीले उल्लेख गरेको छ ।

एमालेले आम नागरिकलाई सामाजिक सञ्जालमा फैलाइएका प्रायोजित तथा भ्रामक प्रचारबाट सचेत रहँदै सत्यतथ्य बुझेर मात्रै धारणा बनाउन अपिल गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖