काठमाडौं । नेपाली कांग्रेसमा १५औँ महाधिवेशनको मिति र प्रक्रियालाई लिएर सभापति गगनकुमार थापा र पूर्वसभापति शेरबहादुर देउवा पक्षबीच विवाद चर्किएको छ। मंगलबार दुवै नेताले छुट्टाछुट्टै अपिल जारी गर्दै आ–आफ्नो पक्षले अघि सारेको महाधिवेशन प्रक्रियामा सहभागी हुन नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।
कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर थापा नेतृत्वको पक्षले असोज ३ गतेदेखि अधिवेशन प्रक्रिया सुरु गरी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पनि यही कार्यतालिकाअनुसार निर्वाचन प्रक्रिया अघि बढाएको जनाएको छ।
यसअनुसार गाउँ–नगर वडा अधिवेशन भदौ २४, गाउँ–नगरपालिका अधिवेशन भदौ २७, प्रदेश सभा क्षेत्रीय अधिवेशन भदौ ३१, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज ३, जिल्ला अधिवेशन असोज ७, प्रदेश अधिवेशन असोज १० तथा केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ।
सभापति थापाले मंगलबार अपिल जारी गर्दै असोज ३ र ४ गते हुने वडा अधिवेशनलगायत निर्धारित प्रक्रियामा कुनै अलमलमा नपरी सहभागी हुन नेता, क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई आग्रह गरेका छन्। थापा पक्षले विशेष महाधिवेशनअघि कायम रहेको केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई पनि वर्तमान कार्यसमितिमा समायोजन गर्ने निर्णय गरेको जनाएको छ।
यता पूर्वसभापति देउवाले असोज ३ गतेदेखि सुरु हुने अधिवेशन प्रक्रियामा सहभागी नहुन आग्रह गरेका छन्। उनले विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अन्तिम निर्णयअघि त्यसबाट आएको कार्यसमितिले महाधिवेशन प्रक्रिया अघि बढाउनु उचित नभएको दाबी गरेका छन्।
देउवा पक्षले भने असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरी मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने छुट्टै कार्यतालिका अघि सारेको छ। देउवाले यही कार्यतालिकाअनुसार महाधिवेशनको तयारीमा जुट्न आग्रह गरेका छन्।
विवादको कानुनी पाटो पनि सर्वोच्च अदालतसम्म पुगेको छ। सर्वोच्चले यसअघि विशेष महाधिवेशन र त्यसबाट आएको केन्द्रीय कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको थियो। त्यसविरुद्ध परेको पुनरावलोकन निवेदनमा सर्वोच्चले पुनरावलोकनको अनुमति दिए पनि यसअघिको फैसला वा निर्वाचन आयोगको निर्णय बदर गरिसकेको छैन।
यसबीच कांग्रेसभित्र सहमतिको प्रयाससमेत भएको थियो। केन्द्रीय कार्यसम्पादन समितिले पूर्वसभापति देउवा नेतृत्वको कार्यसमितिमा रहेका नेताहरूलाई वर्तमान केन्द्रीय कार्यसमितिमा समायोजन गरी महाधिवेशन प्रक्रियामा सहभागी गराउने निर्णय गरेको थियो। त्यसपछि करिब ३१ नेता थापा नेतृत्वको कार्यसमितिमा समाहित हुने तयारीमा रहेको सार्वजनिक विवरण आएका थिए।
तर देउवा स्वयंले भने थापा नेतृत्वको महाधिवेशन प्रक्रियालाई स्वीकार गरेका छैनन्। दुवै पक्षले फरक–फरक मितिमा महाधिवेशन अघि बढाउने अडान कायम राखेपछि कांग्रेसको आगामी महाधिवेशन प्रक्रिया थप जटिल बनेको छ।
