• Sunday 4th of October 2026

घुस रकम छोराको क्युआर कोडमा हाल्न लगाउने गाउँपालिका उपाध्यक्षविरुद्ध मुद्दा दायर


  • धनकुटा खबर
  • .

काठमाडौं । सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु नाछिरिङ राई र उनका छोरा सुनिल नाछिरिङ राईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा गाउँपालिकामा सञ्चालित ९० कार्यदिनको ढाका सिलाइ–बुनाइ तालिममा प्रशिक्षकका रूपमा काम दिलाइदिने भन्दै उपाध्यक्ष राईले सेवाग्राहीसँग ४५ हजार रुपैयाँ घुस मागेकी थिइन्।

छानबिनका क्रममा उक्त रकम उपाध्यक्ष राईकै आग्रहमा उनका छोरा सुनिलको बैंक खाताको क्युआर कोडमार्फत भुक्तानी भएको खुलेको अख्तियारले जनाएको छ।

पदीय जिम्मेवारीको दुरुपयोग गरी छोरा सुनिलसँगको मिलेमतोमा उपाध्यक्ष राईले ४५ हजार रुपैयाँ रिसवत लिएको अख्तियारको दाबी छ। आयोगले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) अन्तर्गतको कसुर भएको भन्दै कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबी गरेको छ।

यस्तै, सुनिल नाछिरिङ राईले पनि आमासँग मिलेमतो गरी सेवाग्राहीबाट ४५ हजार रुपैयाँ घुस रकम लिई प्रयोग गरेको अख्तियारले जनाएको छ।

सुनिलविरुद्ध पनि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(२) बमोजिमको कसुरमा दफा ३(१) को देहाय (क) अनुसार कैद र बिगोबमोजिम जरिवाना सजायको मागदाबी लिइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖