• Sunday 4th of October 2026

यस्ता छन् सर्वदलीय बैठकले गरेका तीन निर्णय


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकले बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणको प्रभावकारी समन्वय र अनुगमनका लागि एक हप्ताभित्र संसदीय विशेष समिति गठन गर्ने निर्णय गरेको छ।

बैठकपछि रास्वपाका प्रवक्ता जगदीश खरेलले भोटेकोशीलगायत बाढीपहिरो प्रभावित क्षेत्रमा सरकारले तथा राजनीतिक दलहरूले हालसम्म गरेका खोजी, उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका कामबारे गम्भीर समीक्षा गरिएको जानकारी दिए।

बैठकले रवि लामिछाने संयोजक रहेको सर्वदलीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णयसमेत गरेको छ। संयन्त्रमा रास्वपा, नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा, जसपा नेपाल, जनमत पार्टीलगायत संसद्मा प्रतिनिधित्व गर्ने तथा बाहिर रहेका दलहरूको सहभागिता रहने बताइएको छ।

त्यसैगरी संसद्मा रहेका दलहरूको सिट सङ्ख्याका आधारमा प्रतिनिधित्व हुने गरी एक हप्ताभित्र संसदीय विशेष समिति गठन गर्ने सहमति भएको छ।

उक्त समितिले विपद् प्रभावित क्षेत्रको अध्ययन, छानबिन तथा समन्वय गर्नेछ। समितिको कार्यक्षेत्र (टीओआर) भने तय हुन बाँकी रहेको प्रवक्ता खरेलले बताए। समितिले विपद् व्यवस्थापनका क्रममा कहाँ–कहाँ सुधार आवश्यक छ भन्ने विषयमा सरकारलाई सुझावसमेत दिनेछ।

बैठकमा प्रधानमन्त्रीको आसन्न संयुक्त राष्ट्रसङ्घ भ्रमणका विषयमा पनि छलफल भएको थियो। सहभागी दलका नेताहरूले नेपालले भोगिरहेको वातावरणीय क्षति तथा त्यसको क्षतिपूर्ति र ‘जलवायु न्याय’को विषयलाई संयुक्त राष्ट्रसङ्घमा प्रभावकारी रूपमा उठाउन प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖