काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं सांसद विपिनकुमार आचार्यले फरक विचार राखेको आधारमा सांसदहरूमाथि भौतिक आक्रमणको प्रयास तथा धम्की दिइएको भन्दै आपत्ति जनाएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक सहिष्णुताको सम्मान हुनुपर्ने बताए। उनले फरक विचार राख्ने अधिकार लोकतान्त्रिक व्यवस्थाको आधारभूत पक्ष भएको उल्लेख गर्दै सांसदहरूमाथि हुने धम्की तथा आक्रमणको प्रयास स्वीकार्य नहुने धारणा राखे।
‘म तिम्रो कुरासँग असहमत हुन सक्छु, तर तिम्रो बोल्ने अधिकारको रक्षाका लागि अन्तिम श्वाससम्म लडिरहनेछु,’ उनले भने।
संविधानले अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै आचार्यले संसद्को ढोकाअगाडि सांसदहरूलाई लक्षित गरी अभद्र व्यवहार तथा धम्की दिइनु गम्भीर विषय भएको बताए।
उनले सांसदहरूविरुद्ध सिंहदरबारको गेटअगाडि लतार्ने, घिसार्ने, घर जलाउने तथा रक्तपात मच्चाउनेजस्ता धम्की आएको दाबी गर्दै त्यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्नुपर्ने माग गरे।
आचार्यले यस्ता धम्कीले सांसदहरूको सुरक्षासँगै लोकतान्त्रिक प्रक्रियामाथि समेत असर पार्न सक्ने भन्दै प्रधानमन्त्री तथा गृहमन्त्रीको ध्यानाकर्षण गराएको बताए।
‘मैले प्रधानमन्त्री र गृहमन्त्रीज्यूलाई स्पष्ट भनिसकेको छु– यस्ता धम्की दिनेहरूलाई तत्काल कानुनी दायरामा ल्याइनुपर्छ,’ उनले भने।
सांसदहरूले संसद्मा तथ्यमा आधारित भएर आफ्ना धारणा राख्न पाउने र उनीहरूको सुरक्षाको जिम्मेवारी राज्यको हुने आचार्यको भनाइ थियो।
