काठमाडौं । धादिङको कृष्णभीर क्षेत्रमा सडक सञ्चालनमा आएसँगै खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ।
बाढीका कारण मुख्य राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्ग प्रयोग गरी ग्यास आयात गर्नुपर्दा ढुवानी खर्च बढेको भन्दै व्यवसायीहरूले ग्यासको मूल्य वृद्धि गरेका थिए। कृष्णभीरमा सडक पुनः सञ्चालन भएपछि ग्यासको मूल्य पनि पुरानै अवस्थामा फर्किएको हो।
नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार नेपाल आयल निगमले काठमाडौंका लागि पिएडओ (प्रोडक्ट डेलिभरी अर्डर) जारी गरेसँगै ग्यासको मूल्य घटेको हो।
‘मुख्य बाटो बन्द हुँदा वैकल्पिक मार्गबाट ढुवानी गर्नुपरेकाले भाडा बढेको थियो,’ घिमिरेले भने, ‘अहिले कृष्णभीरको सडक खुलेर ग्यासका बुलेट सहज रूपमा आउन थालेपछि मूल्य पुनः घटेको छ।’
यसअघि लामो तथा वैकल्पिक मार्ग प्रयोग गर्दा प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा अतिरिक्त ढुवानी खर्च समायोजन गरी मूल्य बढाइएको थियो। अब भने ग्यासको मूल्य पुनः पुरानै दरमा कायम भई प्रति सिलिन्डर २ हजार ६० रुपैयाँ पर्नेछ।
देशलाई तीन क्षेत्रमा विभाजन गरी ग्यास वितरण गरिँदै आएकोमा हालसम्म तराई क्षेत्रको पिएडओबाट आपूर्ति भइरहेको थियो। अहिले काठमाडौं र धादिङका लागि पनि पिएडओ जारी गरिएको छ।
नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले काठमाडौं उपत्यकाका लागि ग्यास ल्याउन पिएडओ जारी भइसकेको जानकारी दिएका छन्। पिएडओ जारी भएसँगै उपभोक्ताले पुरानै मूल्यमा एलपी ग्यास पाउने भएका छन्।
