• Sunday 4th of October 2026

द ग्रेजोनको रिपोर्टबारे श्रम संस्कृति पार्टीले उठायो विदेशी हस्तक्षेपको प्रश्न


  • धनकुटा खबर
  • .

काठमाडौँ । श्रम संस्कृति पार्टीले ‘द ग्रे जोन’को रिपोर्ट तथा सार्वजनिक कागजातमा आधारित विषयलाई लिएर नेपालको राजनीति र नेतृत्व विकासमा विदेशी प्रभावबारे प्रश्न उठाएको छ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर पार्टीका प्रमुख सचेतक आरेन राईले विदेशी सहयोगमा सञ्चालित राजनीतिक तथा नेतृत्व विकासका कार्यक्रमबारे सरकारले स्पष्ट जानकारी दिनुपर्ने बताए।

सांसद राईले द ग्रे जोनको रिपोर्टमा सार्वजनिक गरिएका कागजातले नेपालमा विदेशी सहयोगमा सञ्चालित राजनीतिक तथा नेतृत्व विकासका कार्यक्रमबारे गम्भीर प्रश्न उठाएको बताए। यद्यपि, कुनै व्यक्तिको नाम सार्वजनिक कागजातमा उल्लेख हुनु मात्र विदेशी हस्तक्षेपको प्रमाण नहुने उनको भनाइ थियो।

‘यस्ता गम्भीर प्रश्नको जवाफ नदिई सरकार मौन बस्न मिल्दैन,’ उनले भने।

राईले नेपालमा विदेशी सरकार वा संस्थाको सहयोगमा सञ्चालित राजनीतिक, नेतृत्व विकास तथा युवा परिचालनलगायत कार्यक्रमको विवरण, बजेट र उद्देश्य सार्वजनिक गर्न सरकारसँग माग गरे।

त्यस्ता कार्यक्रमबाट कुन संस्था वा व्यक्तिले कस्तो तालिम वा आर्थिक सहयोग प्राप्त गरे भन्ने विवरण संसद्मा पेस गर्नुपर्ने, विदेशी सहयोग राजनीतिक दलको निर्वाचन, नेतृत्व निर्माण वा सत्ता परिवर्तनमा प्रयोग भएको हो वा होइन भन्नेबारे स्वतन्त्र छानबिन गर्नुपर्ने उनको माग छ।

त्यस्तै, नेपालको राजनीति र निर्वाचनमा विदेशी प्रभाव रोक्न स्पष्ट कानुनी मापदण्ड तथा संसदीय निगरानीको व्यवस्था गर्नुपर्ने उनले बताए।

द ग्रे जोनको रिपोर्टलाई लिएर सामाजिक सञ्जालमा भइरहेको चर्चाबारे टिप्पणी गर्दै राईले सत्तापक्ष तथा केही दलका नेताहरूले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाए।

‘जेनजी आन्दोलन वास्तवमा एउटा उमेर समूहले गरेको हो, त्यसलाई कुनै पार्टी वा व्यक्ति विशेषसँग जोडेर हेर्न मिल्दैन। तर सत्तापक्षले आफ्नो विरुद्ध प्रश्न उठ्नेबित्तिकै आन्दोलनकारीलाई देखाएर ढाकछोप गर्ने प्रयास गरिरहेको छ,’ उनले भने।

राईले नेपालको राजनीतिक भविष्य नेपाली जनताको मत, संविधान र नेपाली जनताको स्वार्थबाट निर्देशित हुनुपर्ने बताए। मित्रराष्ट्रहरूसँग सन्तुलित सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिँदै उनले नेपालको राजनीतिक भविष्यबारे निर्णय गर्ने अधिकार नेपाली जनतामै रहेको धारणा राखे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖