• Sunday 4th of October 2026

केन्द्रीय गुटले बागलुङ कांग्रेसमा बबाल,समानान्तर अधिवेशन प्रक्रिया


  • धनकुटा खबर
  • .

पोखरा । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनको तयारीसँगै बागलुङमा पार्टीको आन्तरिक विवाद चुलिएको छ । संस्थापन र संस्थापन इतर पक्षबीच मतभेद बढेपछि जिल्लामा दुई पक्षले छुट्टाछुट्टै अधिवेशन प्रक्रिया अघि बढाएका छन् ।

जिल्ला सभापति जीतबहादुर शेरचनले केन्द्रीय समितिले तय गरेको कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अघि नबढाएको भन्दै संस्थापन पक्षले उपसभापति तारानाथ पौडेललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ ।

शेरचन हाल गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्रीसमेत छन् । पार्टीको केन्द्रीय निर्णय कार्यान्वयन नगरेको भन्दै महामन्त्री गुरुराज घिमिरेले पत्र पठाएर पौडेललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिँदै तोकिएको कार्यतालिकाअनुसार अधिवेशनका काम अघि बढाउन निर्देशन दिएका हुन् ।

जिम्मेवारी पाएलगत्तै पौडेलले जिल्ला कार्यसमितिको बैठक बोलाएर वडा अधिवेशन सफल बनाउन पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरेका छन् । उनले पार्टीभित्र आन्तरिक कलह गर्नेभन्दा संगठन बलियो बनाउन सबै एकताबद्ध हुनुपर्ने बताएका छन् ।

तर, पौडेललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको २४ घण्टा नबित्दै संस्थापन इतर पक्षले पनि समानान्तर संरचना अघि सारेको छ । इतर पक्षका केन्द्रीय संयोजक डा. शशांक कोइरालाले जिल्ला उपसभापति सागर छन्त्याललाई बागलुङ जिल्ला संयोजकको जिम्मेवारी दिएका छन् ।

इतर पक्षले यसअघि नै छुट्टै अधिवेशन कार्यतालिका सार्वजनिक गरिसकेको छ । उक्त कार्यतालिकाअनुसार असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेश तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने तय गरिएको छ । केन्द्रीय महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म काठमाडौँमा गर्ने इतर पक्षको कार्यतालिका छ ।

संयोजकको जिम्मेवारी पाएका छन्त्यालले आफूहरूले पार्टीलाई एकढिक्का बनाउन नेतृत्वलाई दबाब दिने बताएका छन् । उनका अनुसार अहिले दुई पक्षले फरक–फरक मितिमा अधिवेशन प्रक्रिया अघि बढाइरहेका छन् ।

यस घटनाक्रमसँगै १४औँ महाधिवेशनबाट निर्वाचित जिल्ला सभापति शेरचन पार्टीको जिल्ला नेतृत्वबाट अलग भएका छन् । आफूलाई दुवै पक्षबाट दबाब बढेपछि उनले आफू अब प्रदेश सरकारको आर्थिक मामिलामन्त्रीको भूमिकामा मात्र रहने बताएका छन् ।

‘हिजोसम्म म जिल्ला सभापति थिएँ । दुवै पक्षको सभापति म थिएँ । आजबाट म आर्थिक मामिलामन्त्री मात्रै हो,’ शेरचनले भनेका छन् ।

पार्टीभित्र बढेको ध्रुवीकरणका कारण आफू दुवै पक्षका गतिविधिमा प्रत्यक्ष संलग्न हुन नचाहेको उनको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖