• Sunday 4th of October 2026

माथिल्लो त्रिशूली–१ को सुरुङमा थप ५ शव भेटिए, संख्या १८ पुग्यो


  • धनकुटा खबर
  • .

काठमाडौँ । रसुवामा निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्र थप पाँचवटा शव फेला परेका छन् । यससँगै एउटै सुरुङमा भेटिएका शवको संख्या १८ पुगेको छ ।

यसअघि त्रिशूली–१ को अडिट–३ टनेलभित्र ढलानका लागि बुनिएको डन्डीको जालीमा अल्झिएको अवस्थामा ६ वटा शव फेला परेका थिए । त्यसपछि निरन्तर खोजी गर्ने क्रममा थप सातवटा र शुक्रबार बेलुका पाँचवटा शव भेटिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख डीएसपी अशोक थापाले जानकारी दिए ।

आयोजनाको ९.८ किलोमिटर लामो सुरुङमध्ये मैलुङबाट करिब साढे पाँच किलोमिटर उत्तरतर्फ रहेको दल्दुङ खोला अडिट–३ को करिब १०० मिटरभित्र शवहरू फेला परेका हुन् ।

भदौ १० गते आएको बाढीका समयमा सुरुङभित्र कामका लागि कति जना मजदुर प्रवेश गरेका थिए भन्ने यकिन विवरण अझै खुलेको छैन । फेला परेका शवको पहिचान तथा सनाखत गर्ने काम पनि बाँकी रहेको प्रहरीले जनाएको छ ।

२१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना रसुवामा निर्माणाधीन महत्वपूर्ण जलविद्युत् आयोजना हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖