काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउने प्रयास भइरहेको चर्चाप्रति राष्ट्रिय सभा सदस्य तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले असन्तुष्टि जनाएकी छन्।
झाँक्रीले ओलीको तस्बिर राखेर सामाजिक सञ्जालमा लेखेको स्ट्याटसमार्फत कुनै समय आफूलाई अरूको सहयोग र साथ आवश्यक पर्ने उल्लेख गर्दै ओलीविरुद्ध भइरहेको प्रयासप्रति सांकेतिक असन्तुष्टि व्यक्त गरेकी हुन्।
उनले कसैको खुट्टा तान्दा आफू पनि हिलोमा गाडिन सक्ने भन्दै लेखेकी छन्, ‘त्यस्तो बेला कसैको खुट्टा तान्नु भनेको आफू पनि डुबिरहेको खाल्डो अझ गहिरो बनाउनु हो। कसैलाई ढुङ्गा हान्नु भनेको आफू उभिएको किनार पनि भत्काउनु हो।’
झाँक्रीको यो अभिव्यक्ति एमालेभित्र निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनलगायत विषयमा देखिएको विवाद र ओलीको नेतृत्वबारे भइरहेका बहसको सन्दर्भमा आएको हो।
यसअघि शनिबार ओलीले पनि पार्टी विभाजन र नेतृत्व परिवर्तनबारे आएका समाचारप्रति प्रतिक्रिया दिँदै एमाले आफ्नै बाटोमा अघि बढ्ने बताएका थिए। उनले पार्टीको आगामी केन्द्रीय कमिटी बैठकबाट एकता र आगामी कार्यदिशाबारे स्पष्ट संकल्पसहित अघि बढ्ने बताएका छन्। (
