काठमाडौँ । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी शुक्रबारदेखि सोमबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
बङ्गालको खाडीको मध्य भू–भाग आसपास रहेको न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै गएकाले त्यसको प्रभाव नेपालमा समेत पर्ने देखिएको महाशाखाले जनाएको छ। मौसमविद् मीनकुमार अर्यालका अनुसार यसको मुख्य प्रभाव असोज ९, १० र ११ गते रहनेछ भने बागमती प्रदेशभन्दा पश्चिमका क्षेत्रमा बढी प्रभाव पर्ने सम्भावना छ।
गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश भूभागमा भारीदेखि धेरै भारी तथा एक–दुई स्थानमा अतिभारी वर्षा हुन सक्ने जनाइएको छ। लुम्बिनीको दाङभन्दा पूर्वी भूभाग हुँदै नवलपुरसम्म, कर्णालीको पूर्वी भाग तथा सुदूरपश्चिमका दक्षिणी पहाडी र तराई क्षेत्रमा पनि वर्षाको प्रभाव पर्ने सम्भावना छ।
बागमती प्रदेशको चितवन आसपास तथा यसअघि बाढी र पहिरोबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा मध्यम वर्षाले समेत असर पुर्याउन सक्ने मौसमविद् अर्यालले बताएका छन्।
भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
नेपालमा मनसुन बाहिरिने औसत मिति अक्टोबर २ भए पनि पछिल्ला वर्षहरूको प्रवृत्ति हेर्दा यस वर्ष मनसुन केही दिन ढिलो बाहिरिने सम्भावना रहेको महाशाखाले जनाएको छ।
