• Sunday 4th of October 2026

भारी वर्षाको जोखिमपछि काभ्रेमा उच्च सतर्कता: विद्यालय र सार्वजनिक स्थलमा माइकिङ गरी सचेत गराइँदै


  • धनकुटा खबर
  • .

काभ्रेपलाञ्चोक, ७ असोज । सम्भावित भारी वर्षा र मनसुनजन्य विपद्‌लाई ध्यानमा राख्दै काभ्रेपलाञ्चोकका जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन सचेतना अभियान सुरु गरिएको छ। जल तथा मौसम विज्ञान विभागले असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको प्रक्षेपण गरेपछि जिल्ला प्रशासन तथा सुरक्षा निकायले पूर्वतयारी तीव्र पारेका हुन्।

विपद् न्यूनीकरणका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण हेडक्वाटर र नेपाल प्रहरीले मङ्गलबारदेखि जोखिमयुक्त क्षेत्रमा माइकिङ तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन्। दोलालघाट, रोशी खोला आसपास, भकुण्डेबेँसीलगायतका संवेदनशील क्षेत्रका विद्यालय तथा सार्वजनिक स्थलहरूमा स्थानीयलाई सजग रहन आग्रह गरिएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिले मनसुनजन्य विपद्‌बाट हुन सक्ने क्षति घटाउन तयारी अवस्थामा रहन सबै स्थानीय तह र सुरक्षा निकायलाई निर्देशन दिएको छ। प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार पूर्वसूचनालाई ध्यानमा राख्दै १३ वटै स्थानीय तहलाई पूर्वतयारी र स्रोतसाधन व्यवस्थापनका लागि पत्राचार गरिसकिएको छ।

यसैबिच, जिल्लास्थित सुरक्षा निकायहरूले विपद् व्यवस्थापनका लागि जनशक्ति तयारी अवस्थामा राखिएको जनाएका छन्। उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन आवश्यक स्रोतसाधन उपलब्ध गराइदिन सुरक्षा निकायले सम्बद्ध निकाय एवं स्थानीय तहहरूसँग आग्रह गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖