• Sunday 4th of October 2026

सरकारको काम गराइप्रति रास्वपाकै सांसद छैनन् सन्तुष्ट, संसदमै जनाए असन्तुष्टि


  • धनकुटा खबर
  • .

काठमाडौं, ७ असोज । सरकारको काम गराइप्रति सत्तारुढ रास्वपाकै सांसदहरू सन्तुस्ट देखिएका छैनन् । बुधबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसदहरूले भोटेकोशी बाढीपछि उद्धार, राहत र प्रभावितको पुन:स्थापनामा सरकार चुकेको आरोप लगाए ।

रास्वपा सांसद भरत पराजुलीले भोटेकोशी बाढीमा बेपत्ता भएका नागरिकका परिवारलाई तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बाढी आएको २९ दिन पुग्दासमेत बेपत्ता नागरिकका परिवारमा अन्योल कायम रहेको बताए।

‘भोटेकोशी क्षेत्र व्यापारिक नाका तथा केन्द्र भएकाले बाढीको असर प्रभावित क्षेत्रका नागरिकमा मात्र सीमित नभई देशका ६५ जिल्लासम्म परेको छ। बाढीमा बेपत्ता भएका नागरिकको सम्बन्धमा सरकारले अहिलेसम्म आवश्यक निर्णय नगर्दा परिवारले राहत तथा क्षतिपूर्ति पाउन सकेका छैनन्,’ उनले भने ।

परिवारको सदस्य गुमाएका परिवारलाई राज्यले तत्काल सम्बोधन गर्नुपर्ने उनको भनाइ छ।

‘यो भन्दा अघिल्ला बाढी पहिरोहरूमा पाँच दिनभित्र सरकारले हराएका, बेपत्ता भएकाहरूको लागि मृत्युसरह कायम गर्ने मन्त्रिपरिषद्बाट निर्णय गरेर निकासा दिने गरेको पाइन्थ्यो। अहिलेसम्म यसबारे निकासा नभएको हुनाले तत्काल निकासाको लागि अनुरोध गर्दछु,’ उनले भने ।

नेकपाका सांसद युवराज दुलालले बाढीपछि बेपत्ता भएकाको अब मृत्यु भएको भन्दै कानुन परिमार्जन गर्न सरकारको ध्यानाकर्षण गराए । 

रास्वपाकै सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित राहत शिविरहरूमा महिला र बालबालिका सुरक्षित नरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए।
प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद झाले बाढीपीडित शिविरमा देखिएको सुरक्षा चुनौतीप्रति सजग रहन र उनीहरूको सुरक्षाका लागि विशेष कदम चाल्न सरकारसँग माग गरे।

‘अहिले बाढीपीडितहरू विभिन्न ठाउँको क्याम्पमा बसि राखेको ठाउँमा महिला र बालबालिका त्यति सुरक्षित छैन भन्ने कुरा सुनिन्छ । त्यसप्रति ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖