• Sunday 4th of October 2026

सरकारले काम नगरेपछि तनावमा रास्वपाका महामन्त्री ,संसदमै भने-‘मलाई बचाइदिनुपर्‍यो सरकार!’


  • धनकुटा खबर
  • .

काठमाडौँ । दशैं नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपीन कुमार आचार्यलाई भने सरुवा–बढुवाको दबाबले तनाव बढाएको छ। आफ्नै नातागोता र साथीभाइबाट सरुवा तथा बढुवाका लागि दबाब आउने गरेको भन्दै उनले संसद्मै गुनासो गरेका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै आचार्यले सरुवा र बढुवाका लागि स्वायत्त बोर्ड गठन गर्न सरकारसँग माग गरे। ढिलाइ हुँदा आफूलाई नै अप्ठ्यारो पर्ने भन्दै उनले सरुवा–बढुवा गरिदिन नसके आफ्नै इष्टमित्रले दशैंमा टीका र आशीर्वाद नदिने तथा श्रापसमेत दिन सक्ने चिन्ता व्यक्त गरे।

‘सबैभन्दा धेरै भोग्ने एउटा प्रेसर भनेको चाहिँ सरुवा र बढुवाकै हो। अरु बेला सुशासन र पारदर्शिताका कुरा गर्ने मेरा आफ्नै नातागोता र साथीभाइहरू पनि मेरो घरमा नातावाद र कृपावाद खोज्दै सरुवा, बढुवाका लागि आउनुहुन्छ,’ उनले भने।

आचार्यले आफूले भने सरुवा–बढुवामा विधि र पद्धतिबाहेक अन्य कुनै आधार स्वीकार नगर्ने बताउँदै आएको जानकारी दिए।

‘सरकारलाई स्वायत्त सरुवा बोर्ड चाँडै गठन गर्न आग्रह छ। नत्र यो आउने दशैंमा आफ्नै इष्टमित्रले टीका र आशीर्वाद नदेलान् भन्ने पीर छ, अझ काम गरेन भनेर श्राप पो दिने हुन् कि भन्ने डर छ,’ उनले भने, ‘यो श्रापबाट मलाई बचाइदिनुपर्‍यो सरकार।’

आचार्यले सरुवा–बढुवाका लागि आग्रह गर्ने आफन्तलाई पार्टीको वाचापत्रको बुँदा नम्बर ८ देखाउने गरेको बताए। उक्त बुँदाअनुसार स्वायत्त सरुवा बोर्ड गठन गरी विधि र पूर्वानुमानका आधारमा सरुवा तथा बढुवा गर्ने व्यवस्था हुने भन्दै आफूले आफन्तलाई सम्झाउने गरेको उनको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖