• Sunday 4th of October 2026

अब्दुल खान सहितका केही नेता रास्वपा प्रवेशकाे तयारीमा


  • धनकुटा खबर
  • .

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित केही नेता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारीमा रहेको बताइएको छ।

खानको नेतृत्वमा केही युवाले शुक्रबार रास्वपा सभापति रवि लामिछानेलाई भेटेर पार्टीमा आबद्ध हुने विषयमा छलफल गरेका छन्। भेटमा जनमत पार्टीका नेता तथा उद्योगमन्त्री इन्जिनियर दीपक साहसमेत सहभागी थिए। उक्त भेटघाटको समन्वय मन्त्री साहले गरेको बताइएको छ।

यद्यपि, खानले आफू रास्वपामा प्रवेश गरिसकेको भन्ने कुरा अस्वीकार गरेका छन्। उनले लामिछानेसँग आगामी निर्वाचनमा सहकार्य गर्ने विषयमा मात्रै छलफल भएको दाबी गरेका छन्।

‘पार्टी प्रवेशको कुरा होइन, चुनावमा सहकार्यका लागि कुराकानी भएको हो, अरू केही होइन,’ खानले भने।

खान यसअघि जनमत पार्टीका अध्यक्ष सीके राउतसँग लामो समय काम गरेका नेता हुन्। स्वतन्त्र मधेस गठबन्धनदेखि जनमत पार्टी गठनसम्म उनी राउतसँगै थिए। जेनजी आन्दोलनपछि जनमत पार्टी छाडेका खान रेशम चौधरीसँग मिलेर नागरिक उन्मुक्ति पार्टी नेपाल गठनमा सहभागी भएका थिए। उनी उक्त पार्टीको उपाध्यक्ष बनेका थिए।

खान प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समेत उम्मेदवार बनेका थिए। निर्वाचनमा पराजित भएपछि उनी नागरिक उन्मुक्ति पार्टीमा सक्रिय थिएनन्।

शुक्रबार नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय सचिवालय बैठक चलिरहेका बेला खानले रास्वपा सभापति लामिछानेलाई भेटेका हुन्।

यसैबीच, यसअघि जनमत पार्टी छाडेर रास्वपामा प्रवेश गरेका सुरेन्द्रनारायण यादवले भने अब्दुल खानसहित केही नेता रास्वपामा आइसकेको दाबी गरेका छन्।

‘अब्दुलजीहरू रास्वपामा आइसक्नुभएको छ। अब पार्टीमा कसरी समायोजन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ,’ यादवले भने।

उनका अनुसार शुक्रबार लामिछानेलाई भेट्न पुगेका अधिकांश नेता यसअघि नै जनमत पार्टी छाडिसकेका व्यक्ति हुन्। उनीहरूलाई रास्वपामा समायोजन गर्ने विषयमा छलफल भइरहेको यादवको भनाइ छ।

यादवले यसअघि नै अब्दुल खानसहित अन्य नेताहरूको नाम रास्वपामा बुझाइएको भए पनि विभिन्न कारणले त्यतिबेला पार्टीमा समावेश हुन नसकेको बताए। अहिले उनीहरूलाई पार्टीमा समेट्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ।

‘कुन नेतालाई कहाँ जिम्मेवारी दिने, कहाँ–कहाँ राख्ने भन्ने विषयमा छलफल चलिरहेको छ। एक ठाउँमा जुटेर देश, जनता र सङ्गठनको हितका विषयमा छलफल भएको हो,’ यादवले भने।

रास्वपामा जोडिएका तथा जोडिन चाहनेलाई स्वागत गर्दै यादवले आगामी स्थानीय तथा प्रदेश निर्वाचनलाई लक्षित गरेर सङ्गठन विस्तार, जनसम्पर्क र जनविश्वास निर्माणमा आफूहरू सक्रिय रहेको बताए।

खान भने आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेको बताइएको छ। स्रोतका अनुसार आफ्नो उम्मेदवारी सुनिश्चित हुने अवस्था बनेमा उनी रास्वपासँग आबद्ध हुने मनस्थितिमा छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖