• Sunday 4th of October 2026

प्रधानमन्त्री स्वदेश फर्किँदा तीन मन्त्रीले गरे स्वागत, देखिएन विमानस्थलमा तामझाम


  • धनकुटा खबर
  • .

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन शाह शनिबार स्वदेश फर्किएका छन्। उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

प्रधानमन्त्री शाहलाई स्वागत गर्न कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ र संस्कृति, नागरिक तथा उड्डयनमन्त्री खडकराज पौडेल विमानस्थल पुगेका थिए।

प्रधानमन्त्री शाह गत मंगलबार साँझ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका थिए। उनले असोज ८ गते महासभालाई सम्बोधन गरेका थिए।

उनले बिहीबार महासभालाई सम्बोधन गर्दै नेपालको प्राथमिकता, जलवायु संकट र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा नेपालको धारणा राखेका थिए।

सम्बोधनका क्रममा उनले भोटेकोशी–त्रिशूली बाढीलाई जलवायु परिवर्तनबाट सिर्जित संकटको उदाहरणका रूपमा प्रस्तुत गर्दै हिमाली क्षेत्रमा बढ्दो जोखिमबारे विश्व समुदायको ध्यानाकर्षण गराए।

शाहले जलवायु परिवर्तनले सीमा नचिन्ने उल्लेख गर्दै हिमनदी पग्लिने, बाढी र पहिरोजस्ता जोखिम नेपालसँगै चीन र भारतसम्म फैलिन सक्ने बताए। साथै, जलवायु न्यायलाई आर्थिक सहयोगमा मात्र सीमित नगरी जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणाली, सुरक्षित पूर्वाधार र दीर्घकालीन तयारीमा लगानी गर्नुपर्नेमा जोड दिए।

अमेरिका बसाइका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलगायत अन्तर्राष्ट्रिय प्रतिनिधिसँग भेटवार्तासमेत गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖