काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ देखि १२ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हावाहुरीको सम्भावनाबारे पूर्वानुमान भएसँगै सरकारले पूर्वसावधानी र विपद् व्यवस्थापनका लागि आवश्यक तयारी गरेको बताएका छन्।
प्रधानमन्त्रीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कमान्ड पोस्टमार्फत निरन्तर सूचना सम्प्रेषण, रातिको समयमा यातायात सञ्चालनमा रोक, विद्यालय बन्दलगायतका सावधानीका निर्णय गरिएको र ७७ वटै जिल्ला कमान्ड पोस्टलाई सक्रिय बनाइएको जानकारी दिएका छन्।
अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङका घटना भइरहेका छन्। असोज ८ गतेदेखि हालसम्मको विवरणअनुसार म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बागलुङ, लमजुङ, रुकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर, सुर्खेतलगायत जिल्लामा २१ जनाको मृत्यु भएको प्रधानमन्त्रीले बताएका छन्।
विपद्मा परी पाँच जना घाइते भएका छन्। घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइएको जनाइएको छ। यस्तै, हालसम्म पाँच जना बेपत्ता भएको विवरण प्राप्त भएको छ भने मनाङमा हिमपहिरोमा परी मानिस बेपत्ता भएको सूचनामाथि विवरण संकलन भइरहेको प्रधानमन्त्रीले बताएका छन्।
प्रधानमन्त्रीका अनुसार बाढी, पहिरो, डुबान र चट्याङलगायतका कारण देशभर ४३९ वटा मनसुनजन्य घटना भएका छन्। बाढी तथा डुबानका कारण गाउँसँगै सहरहरू समेत प्रभावित भएका छन् भने सडक, पुल, जलविद्युत् आयोजना र खानेपानी प्रणालीलगायतका पूर्वाधारमा क्षति पुगेको छ।
उनले नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताउँदै बेपत्ता नागरिकको खोजी, बाढीमा फसेका नागरिक तथा पशुचौपायाको उद्धारमा सुरक्षाकर्मीहरू अहोरात्र खटिरहेको बताएका छन्।
बाढी–पहिरो प्रभावित परिवारका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय गरी अस्थायी बसोबासको व्यवस्था गरिएको जनाइएको छ। जोखिमबारे नागरिकलाई निरन्तर सूचना तथा सन्देश प्रवाह गर्नुका साथै सुरक्षाकर्मीले प्रभावित क्षेत्रमा स्थलगत माइकिङ गरिरहेको प्रधानमन्त्रीले बताएका छन्।
बाढीका कारण नारायणी नदीमा क्रुजसिप बगेर पुलमा अड्किएपछि सावधानीका लागि पूर्व–पश्चिम राजमार्ग बन्द गरिएको छ। बाढी र पहिरोका कारण पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकमार्गसहित विभिन्न जिल्लाका दर्जनभन्दा बढी सडक प्रभावित भएका छन्।
भोटेकोशी–त्रिशूली नदी तटीय क्षेत्रमा यसअघि मर्मत गरिएका सडकमा पुनः क्षति पुगेको तथा कालीगण्डकीको पक्की पुलसमेत बगेको प्रधानमन्त्रीले बताएका छन्। क्षतिग्रस्त सडकहरू यथाशीघ्र मर्मत गरी यातायात सञ्चालनमा ल्याउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ।
बाढीका कारण कालीगण्डकी करिडोर, मर्स्याङ्दी र सेती–मादी करिडोरलगायतका क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनबाट १ हजार १३ दशमलव २ मेगावाट विद्युत् आपूर्ति प्रभावित भएको छ। त्यसमध्ये ३१८ मेगावाट क्षमताका जलविद्युत् आयोजना प्रसारण लाइनका टावर ढलेका कारण पूर्ण रूपमा बन्द भएका छन्।
त्यस्तै, बाढी–पहिरो तथा सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षात्मक उपायस्वरूप ६९५ दशमलव २ मेगावाट उत्पादन क्षमताका आयोजनाको उत्पादन बन्द गरिएको छ। विद्युत् आपूर्ति यथाशीघ्र पुनःस्थापना गर्न प्राविधिक टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको जनाइएको छ।
ठूला नदीहरूमा पानीको बहाव बढेपछि केही स्थानमा आवागमनसमेत रोकिएको छ। महाकाली नदीमा जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवागमन प्रभावित भएको छ। नागरिकको सुरक्षालाई ध्यानमा राखी पुलको दुवैतर्फ सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
सेती, नारायणी र कमला नदीमा समेत पानीको सतह बढेको तथा कुलेखानी क्षेत्रमा यातायात रोकिएको प्रधानमन्त्रीले बताएका छन्। नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन उनले आग्रह गरेका छन्।
हुरीसहितको वर्षाका कारण किसानको धानबाली, तरकारी तथा अन्य कृषि बालीमा समेत ठूलो क्षति पुगेको जनाइएको छ।
प्रधानमन्त्रीले विपद्को जोखिम अझै नटरेको भन्दै नदी तटीय तथा पहाडी क्षेत्रमा बसोबास गर्ने र यात्रा गर्ने सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। उनले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र संकटमा परे शुल्क नलाग्ने १२३४ नम्बरमा सम्पर्क गर्न आग्रह गरेका छन्।
विपद्को समयमा भ्रामक सूचना फैलाउने, पीडितको गोपनीयता भङ्ग गर्ने तथा कालोबजारी गर्नेहरूमाथि सरकारले कडा निगरानी राखिरहेको पनि प्रधानमन्त्रीले बताएका छन्। संकटका बेला पीडितलाई थप पीडा हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने उनको भनाइ छ।
“हामी धैर्य, संयम र एकताका साथ यो विपद्को पनि सामना गर्नेछौँ,” प्रधानमन्त्रीले भनेका छन्।
उनले सबै नागरिकलाई सुरक्षित र सतर्क रहन आग्रह गरेका छन्।
