• Sunday 4th of October 2026

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय


  • धनकुटा खबर
  • .

काठमाडौँ । सरकारले स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अर्थ मन्त्रालयको प्रस्तावमा उक्त वैदेशिक अनुदान स्वीकार गर्ने निर्णय भएको जानकारी दिए।

बैठकले पूर्वाधार विकास तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित संरचना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति दिएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमला–ढल्केबर–पथलैया सडकखण्ड, गर्जाङ खोला र बलेफी खोला जलविद्युत् आयोजना तथा सशस्त्र प्रहरी बलका तालिम शिक्षालय, गुल्म र सीमा सुरक्षा पोस्ट निर्माणका लागि वन क्षेत्र उपयोग गर्न दिइने भएको छ।

यस्तै, संघीय निजामती सेवा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिइएको छ।

मन्त्रिपरिषद्ले सहसचिव आवास श्रेष्ठ कर्णलाई सचिवमा बढुवा गरी गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिव र डा. जगदीश्वर कर्माचार्यलाई सचिवमा बढुवा गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णयसमेत गरेको छ।

यसैबीच, प्रवक्ता पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ वा नियन्त्रणमा नलिइएको दाबी गर्दै परिवारको आग्रहमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी उद्धार गरेर सुरक्षित स्थानमा राखिएको बताए।

खेलकुदतर्फ लामो समयदेखि घरेलु लिग सञ्चालन हुन नसक्दा खेलाडी प्रभावित भएकाले सरकारले घरेलु लिग सञ्चालनको तयारी गरिरहेको र देशभर २७ स्थानमा खेल पूर्वाधार निर्माणको काम अघि बढाइएको पोखरेलले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖