काठमाडौँ । नेपाल राष्ट्र बैंकको निर्देशनपछि बैंक तथा वित्तीय संस्थाहरूले केही एटीएमबाट १०० रुपैयाँ दरका नोट निकाल्न मिल्ने व्यवस्था सुरु गरेका छन्।
दसैँलाई लक्षित गर्दै बैंकहरूले सीमित एटीएम मेसिनमा १०० रुपैयाँका नयाँ नोट राख्न थालेका हुन्। यसअघि अधिकांश एटीएममा ५०० र १ हजार रुपैयाँका नोट मात्र राखिँदै आएको थियो।
राष्ट्र बैंकका अनुसार काठमाडौं उपत्यकाका दरबारमार्ग, सिंहदरबार, न्युरोडलगायत केही स्थानका एटीएमबाट १०० रुपैयाँका नोट निकाल्न सकिने व्यवस्था मिलाइएको छ।
बैंकहरूले आफ्ना कुल एटीएममध्ये करिब १५ देखि २५ प्रतिशत मेसिनमा १०० रुपैयाँका नोट राख्न सकिने जानकारी राष्ट्र बैंकलाई दिएका छन्। सबै एटीएमबाट भने तत्काल १०० रुपैयाँका नोट निकाल्न सकिने छैन।
पुराना एटीएममा सामान्यतया दुईवटा क्यासेट मात्र हुने भएकाले ५०० र १ हजार रुपैयाँका नोट राखिँदै आएको थियो। नयाँ प्रविधिका एटीएममा तीनदेखि चारवटासम्म क्यासेट हुने भएकाले १०० रुपैयाँका नोट राख्न सहज हुने बैंकहरूले जनाएका छन्।
राष्ट्र बैंकले दसैँका बेला साना दरका नोट साट्न बैंकका काउन्टरमा हुने भीड कम गर्न एटीएमबाटै १०० रुपैयाँका नोट वितरण गर्न बैंकहरूलाई आग्रह गरेको हो। यसबाट विद्यार्थी, न्यून आय भएका व्यक्ति तथा खुद्रा रकम आवश्यक पर्ने सर्वसाधारणलाई सहज हुने अपेक्षा गरिएको छ।
