• Monday 5th of October 2026

कांग्रेसको महाधिवेशनको बन्दसत्र सुरु,यसरी हुँदैछ छलफल


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र सुरु भएको छ। बन्दसत्रका लागि हिमाल, पहाड र तराई–मधेस गरी तीन वटा समूहमा प्रतिनिधिहरूलाई विभाजन गरिएको छ।

सुरुआतमा पहाड समूहको बन्दसत्र सञ्चालन भएको छ। बन्दसत्रका लागि हिमाल हल, पहाड हल र तराई–मधेस हल निर्धारण गरिएको छ।

हिमाल हलमा कोशी, कर्णाली र गण्डकी प्रदेशका गरी २ हजार ३३१ प्रतिनिधि सहभागी छन्। पहाड हलमा बागमती र लुम्बिनी प्रदेशका २ हजार २२६ प्रतिनिधि सहभागी छन्। त्यस्तै, तराई–मधेस हलमा मधेश र सुदूरपश्चिम प्रदेशसँगै जनसम्पर्क समिति तथा भ्रातृ संस्थाका गरी २ हजार ३७६ प्रतिनिधि सहभागी छन्।

बन्दसत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महामन्त्री प्रदीप पौडेलले पेश गरेको पार्टी सञ्चालन तथा विधानसम्बन्धी प्रस्ताव र उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको समसामयिक प्रस्तावमाथि छलफल हुने कांग्रेसले जनाएको छ।

यसअघि बसेको केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले बन्दसत्रमा पेश हुने प्रस्तावहरू पारित गरेको थियो। प्रवक्ता देवराज चालिसेका अनुसार सभापति थापाको राजनीतिक प्रस्तावमा आगामी चार वर्षका लागि पार्टीको कार्यदिशा, सरकार, देशको समग्र अवस्था तथा अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी विषय समेटिएका छन्।

कांग्रेसले आगामी निर्वाचनमा उम्मेदवार छनोट गर्दा नेतृत्व विकास र क्षमता अभिवृद्धिलाई प्राथमिकता दिने नीति अघि सारेको छ। नेतृत्व एकेडेमीबाट प्रशिक्षण तथा अध्ययन पूरा गरेका व्यक्तिलाई उम्मेदवार बनाउने अवधारणा प्रस्ताव गरिएको छ।

महामन्त्रीले पेश गरेको विधान तथा पार्टी सञ्चालनसम्बन्धी प्रारम्भिक खाकामा वडा, क्षेत्र र जिल्ला तहमा थप पद सिर्जना गर्ने प्रस्तावसमेत गरिएको छ। यद्यपि, उक्त संरचना अन्तिम नभएको कांग्रेसले जनाएको छ।

बन्दसत्रमा प्रस्तावमाथि छलफल र प्रतिनिधिहरूबाट पारित भएपछि मात्रै विधान तथा पार्टी सञ्चालनसम्बन्धी प्रस्तावले अन्तिम रूप पाउनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖