काठमाडौँ । सरकारले अन्तरप्रदेशमा सञ्चालन हुने विद्युतीय सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गरेको छ। यातायात व्यवस्था विभागले बिहीबार नयाँ भाडादर सार्वजनिक गरेको हो।
विभागका अनुसार तराईको २५० किलोमिटरभन्दा लामो दूरीमा पक्की तथा ग्राभेल सडकमा यात्रुवाहक सवारीको भाडा प्रतिकिलोमिटर प्रतिव्यक्ति २ रुपैयाँ ९३ पैसा तोकिएको छ। २५ देखि २५० किलोमिटरसम्म प्रतिकिलोमिटर ३ रुपैयाँ कायम गरिएको छ। काठमाडौँ–पोखरा र पोखरा–नारायणगढ खण्डमा भने प्रतिकिलोमिटर ३ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ।
डिलक्स र सुपर डिलक्समा थप भाडा
विभागबाट डिलक्स सुविधा प्रमाणित भएका सवारीले सामान्य भाडादरमा २० प्रतिशत थप लिन पाउनेछन्। सुपर डिलक्स सवारीले डिलक्स भाडादरमा थप २० प्रतिशत लिन सक्ने व्यवस्था गरिएको छ।
विभागले विद्यार्थी, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई नियमानुसार अनिवार्य सहुलियत दिनुपर्ने जनाएको छ। सहुलियत लिन यात्रुले सक्कल परिचयपत्र देखाउनुपर्नेछ।
लामो दूरीका रात्रिकालीन बसमा दुई जना चालक अनिवार्य राख्नुपर्ने व्यवस्था पनि गरिएको छ। तोकिएको भन्दा बढी भाडा लिएमा यात्रुले हेलो सरकारको टोल फ्री नम्बर ११११ वा ट्राफिक प्रहरीको नम्बर १०३ मा उजुरी गर्न सक्नेछन्।
मालवाहक सवारीको भाडादर पनि समायोजन गरिएको छ। तराईमा प्रतिकिलोमिटर प्रतिटन ७ रुपैयाँ ७२ पैसा र पहाडी सडकमा १४ रुपैयाँ ७७ पैसा कायम गरिएको विभागले जनाएको छ।
