गोरखा । बुढीगण्डकी नदीमा आएको ठुलो बाढीले गोरखाको सल्लेरी बजार बगाएको छ । स्थानीय विशाल घलेले दिएको जानकारी अनुसार सल्लेरी बजार बगाउनुको साथै जगत बजारमा पनि ठुलो क्षति पुर्याएको छ ।
चुमनुब्री गाउँपालिकास्थित छेकम्पारमा गएराति सुक्खा पहिरो खसेर नदी थुनिएपछि बाढी आएको आशंका गरिएको छ ।
नदीमा पानीको बहाव अत्यधिक बढेपछि नदी किनार तथा आसपासका क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई तत्काल सुरक्षित तथा उच्च स्थानमा जान आग्रह गरिएको थियो ।
चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले आइतबार एकाबिहानै नदीमा ठुलो आवाजसहित पानीको बहाव बढेको जानकारी दिए । बाढी तल्लो तटीय क्षेत्रतिर गइरहेकाले उनले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नबस्न सबैलाई अनुरोध गरेका छन् ।
