• Wednesday 21st of October 2026

हुथी आक्रमणबाट साउदी अरबलाई जोगाउन बेलायतले लडाकु विमान परिचालन गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । यमनका हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि साउदी सहर र महत्त्वपूर्ण पूर्वाधारको सुरक्षामा सहयोग गर्न बेलायतले आफ्नो शाही वायुसेनाका ‘टाइफुन’ लडाकु विमान परिचालन गर्ने घोषणा गरेको छ । बेलायती सरकारले मंगलबार यससम्बन्धी औपचारिक घोषणा गरेको हो ।

ती विमानले साउदी अरबका सहर र महत्त्वपूर्ण पूर्वाधारलाई ड्रोन तथा क्षेप्यास्त्र आक्रमणबाट जोगाउन सहयोग गर्नेछन् । तर, तिनलाई यमनभित्रका हुथी लक्ष्यमा आक्रमण गर्न परिचालन नगरिने बेलायती रक्षा मन्त्रालयले जनाएको छ ।

बेलायती रक्षामन्त्री वेस स्ट्रिटिङले साउदी अरबमाथि हुथीले निरन्तर गरिरहेको आक्रमणको निन्दा गरेका छन् । उनले ती आक्रमणलाई घृणित र भर्त्सनायोग्य भनेका छन् । उनले विशेष गरी रियादको अन्तर्राष्ट्रिय विमानस्थललक्षित आक्रमणको कडा आलोचना गरेका छन् ।

यही अक्टोबरको सुरुदेखि रियादको अन्तर्राष्ट्रिय विमानस्थललाई २० पटकसम्म निसाना बनाइएको छ । ती आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु र केही मानिस घाइते भएका जनाइएको छ ।

साउदी अरबको औपचारिक अनुरोधपछि बेलायतले यो सैन्य परिचालन गर्न लागेको हो । बेलायतले यससँगै ‘एटलस ए४००एम’ सैन्य यातायात विमान र सल्लाहकारको टोली पनि पठाइने जनाएको छ ।

हुथीविरुद्ध परिचालित साउदी विमानमा हावामै इन्धन भर्ने सुविधा थप ९० दिनसम्म जारी राख्ने प्रस्तावलाई पनि बेलायतले स्वीकृति दिएको छ ।
गएको सेप्टेम्बरमा वर्षौंदेखि कायम युद्धविराम भंग भएपछि यमनको गृहयुद्ध फेरि तीव्र बनेको छ । यही अवस्थामा बेलायतले यस्तो घोषणा गरेको हो ।

हुथीले साउदीका तेल प्रशोधन केन्द्र र सर्वसाधारणले प्रयोग गर्ने महत्त्वपूर्ण पूर्वाधारलाई निसाना बनाउँदै आएको विवरणमा उल्लेख छ । हुथी लडाकुले साउदीमाथि समुद्री नाकाबन्दी लगाउनुका साथै तेल ट्यांकरमा आक्रमण गरेर यसको निर्यातमा अवरोध पुर्‍याएको जनाइएको छ ।

यमनभित्र पनि हुथीले सोमबार साउदी समर्थित सरकारी सुरक्षा बलको तालिम शिविरमा गरेको आक्रमणमा ५८ जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरूले बताएका छन् ।

साउदी र अमेरिकाले इरानले हुथी विद्रोहीलाई सहयोग गरिरहेको आरोप लगाउँदै आएका छन् । इरानले उक्त आरोप अस्वीकार गर्दै आएको छ ।

सुरक्षा जोखिम बढेपछि साउदी अरबले आफ्नो प्रमुख लगानी सम्मेलन ‘फ्युचर इन्भेस्टमेन्ट इनिसिएटिभ’ सन् २०२७ सम्मका निम्ति स्थगन गरेको छ । ‘मरुभूमिको डाभोस’ भनेर समेत चिनिने उक्त सम्मेलन यही अक्टोबर २६ देखि २९ सम्म आयोजना गरिने तय थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖