मुम्बई । बलिउड अभिनेता टाइगर श्राफमाथि गत अक्टोबर १८ भएको गोली प्रहार घटनाको अनुसन्धान गरिरहेको मुम्बई प्रहरीको अपराध शाखाले नयाँ तथ्य सार्वजनिक गरेको छ।
आक्रमणकारीहरूलाई अभिनेता इमरान हाशमीको घरको रेकी गर्न भनिएको तर घर फेला पार्न नसक्दा उनीहरू असफल भएको अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार श्राफमाथि आक्रमण गर्नुअघि उनीहरूले अभिनेता सलमान खान र आमिर खानको घरमा समेत रेकी गरेका थिए। एक प्रहरी अधिकारीले भने, ‘सलमान खान सधैँ लरेन्स बिश्नोई समूहको निशानामा रहँदै आएका थिए। यसपटक उनीहरूले अभिनेता आमिर खानको घरमा पनि रेकी गरे, तर आमिर दक्षिण मुम्बई सरिसकेको जानकारी उनीहरूलाई थिएन। त्यसैले उनीहरूले आमिरलाई भेट्टाउन सकेनन्।’
त्यसपछि आक्रमणकारीहरूलाई हाशमीको निवास रेकी गर्न पठाइएको थियो। स्थानीयस्तरमा सोधपुछ गर्दा पनि घर फेला नपरेपछि उनीहरूले आफ्ना कमान्डरलाई जानकारी गराएका थिए। त्यसपछि सामाजिक सञ्जालमा टाइगर श्राफका भिडियोहरू हेरेर र उनी हरेक आइतबार फुटबल खेल्न जुहुस्थित पुष्प नार्सी मैदान जाने कुरा पत्ता लगाएर श्राफलाई निशाना बनाउने निर्णय गरिएको अधिकारीले बताए।
यसैबीच हरियाणाको सोनिपतबाट पक्राउ परेका चार जना अभियुक्तहरू – २१ वर्षीया राधा वर्मा, २१ वर्षीया बबिता राव, २१ वर्षीय कुणाल जामिनसिंह र १९ वर्षीय सुमित सरोलियालाई सोमबार एस्प्लानेड अदालतमा उपस्थित गराई अक्टोबर २८ सम्मका लागि प्रहरी हिरासतमा पठाइएको छ।
अदालतमा प्रहरीले उनीहरूले सुटरहरूलाई हतियार उपलब्ध गराएको जानकारी दिएको छ। पक्राउ परेकामध्ये कुणाल जामिनसिंह बिश्नोई समूहका भनिएका अनिल पण्डितको सम्पर्कमा थिए। पण्डितले नै श्राफमाथिको आक्रमणको जिम्मा लिएका थिए।
जामिनसिंहले राधा वर्मालाई पेस्तोल दिएका थिए। त्यसपछि राधा र बबिता रावले असोज १ गते (अक्टोबर १७) दादरमा सुटरहरूमध्येका एक रेहान अन्सारीलाई भेटेर सो पेस्तोल हस्तान्तरण गरेका थिए।
आक्रमण लगत्तै हतियार फिर्ता गर्न र त्यो तुरुन्तै उठाइने निर्देशन सुटरहरूलाई दिइएको प्रहरीले अदालतलाई बताएको छ।
उक्त आक्रमणमा टाइगर श्राफ बालबाल बचेका थिए भने उनका चालक र एक ब्लगरलाई गोली लागेको थियो। यस घटनामा हालसम्म ११ जना अभियुक्त पक्राउ परिसकेका छन्।
