मुम्बई । बलिउड अभिनेता टाइगर श्राफ माथि भएको गोली प्रहार घटनाको नयाँ तथ्यहरू बाहिर आएका छन् । मुम्बई प्रहरीका अनुसार कुख्यात लरेन्स बिश्नोई गिरोहको निशानामा टाइगर श्राफ मात्र नभई बलिउड अभिनेता आमिर खानसमेत रहेको खुलेको हो ।
अनुसन्धानबाट प्राप्त जानकारी अनुसार सुटरहरूले आमिर खानको घरको कम्तीमा तीन पटक निगरानी गरेका थिए । यसका लागि उनीहरू बान्द्रास्थित आमिरको घर नजिकैको एक लजमा धेरै दिनसम्म बसेका थिए । सुटरहरूले आमिरको गतिविधिलाई पछ्याउँदै आक्रमण गर्ने उपयुक्त मौकाको खोजी गरिरहेका थिए ।
यद्यपि, आमिर खान प्रायः घरबाट बाहिर ननिस्कने र फिल्मको छायाङ्कनका सिलसिलामा व्यस्त रहने भएकाले सुटरहरूले आक्रमणको मौका पाउन सकेनन् । कहिले छायाङ्कनका लागि सहरबाहिर रहने त कहिले घर फर्केपछि पनि धेरै दिनसम्म बाहिर ननिस्कने आमिरको बानीका कारण सुटरहरू उनको योजनाबद्ध तालिका पत्ता लगाउन असफल भएको खुलेको हो ।
प्रहरीले यस षड्यन्त्रलाई गत जुलाई महिनामा आमिर खानलाई सामाजिक सञ्जालमार्फत दिइएको धम्कीसँग जोडेर हेरिरहेको छ । त्यसबेला सामाजिक सञ्जालमा एक अडियो क्लिप र स्क्रिन सट भाइरल भएको थियो, जसमा लरेन्स बिश्नोई ग्याङसँग सम्बन्धित भएको दाबी गर्ने एक व्यक्तिले आमिरलाई खुला धम्की दिएका थिए ।
आमिर खान र गौरी स्पाट बिचको विवाहलाई लिएर आपत्ति जनाउँदै उक्त धम्की दिइएको थियो । यद्यपि, सो विषयमा आमिर खानले पछि एक अन्तर्वार्तामार्फत आफ्नो धारणा सार्वजनिक गरेका थिए ।
आमिर खानमाथि आक्रमण गर्ने अवसर नपाएपछि सुटरहरूले आफ्नो ध्यान टाइगर श्राफतिर मोडेका थिए । प्रहरीका अनुसार टाइगरको दिनचर्या निकै नियमित र अनुमान गर्न सकिने खालको थियो । उनी नियमित रूपमा जिम जाने र प्रत्येक आइतबार जुहुस्थित एक पार्कमा फुटबल खेल्न पुग्ने गर्थे ।
यही निश्चित तालिकाका कारण सुटरहरूलाई टाइगरसम्म पुग्न सजिलो भएको पाइएको छ । अन्य स्टारहरूको तुलनामा टाइगरको गतिविधि पत्ता लगाउन सजिलो भएकाले उनलाई निशाना बनाइएको थियो । सुटरहरूले बलिउडका अन्य कलाकारहरूको पनि निगरानी गरेको अनुसन्धानमा खुलेको छ ।
लरेन्स बिश्नोई ग्याङको निशानामा सलमान खान लामो समयदेखि रहे पनि उनको कडा सुरक्षा घेराका कारण आक्रमणकारीहरू उनीसम्म पुग्न सकेका छैनन् । प्रहरीका अनुसार गत सेप्टेम्बर २० मा हरियाणाबाट फूल सिंह र रेहान अन्सारी नामका दुई सुटर मुम्बई पुगेका थिए ।
उनीहरूले बान्द्रास्थित आमिर खानको घर वरपर बसेर निगरानी गरेका थिए । धेरै दिनसम्म प्रयास गर्दा पनि आमिरलाई भेट्न नसकेपछि सेप्टेम्बरको अन्त्यतिर उनीहरूले अमेरिकामा रहेका अनिल पण्डितसँग सम्पर्क गरेका थिए । त्यसपछि नै टाइगर श्राफलाई निशाना बनाउने अन्तिम निर्णय लिइएको थियो ।
यो आक्रमणमा अत्याधुनिक हतियार प्रयोग भएको खुलेको छ । स्रोतका अनुसार टाइगरमाथि आक्रमण गर्न टर्कीमा बनेको जिगाना पेस्तोल र अर्को एक देसी पेस्तोल प्रयोग गरिएको थियो । आक्रमणको समयमा देसी पेस्तोल जाम भएका कारण टाइगरको गाडीको साइड झ्यालमा गोली चल्न सकेन र अभिनेता बाल–बाल बाँच्न सफल भए ।
यस प्रकरणमा दिल्ली प्रहरीको स्पेसल सेलले सोनीपतका दुई युवतीसहित चार जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूमा कुणाल, सुमित, राधा र बबिता रहेका छन् । राधा र बबिताले नै रेलमार्फत ती हतियार मुम्बई पुर्याएका थिए र दादरस्थित रोयल रेस्ट हाउसमा बसेका थिए ।
प्रहरीले हाल उक्त रेस्ट हाउस सिल गरी सीसीटीभी फुटेज, गेस्ट डायरी र आधार कार्डहरू नियन्त्रणमा लिएको छ । घटनामा संलग्न रहेको आरोपमा हालसम्म कुल ११ जना पक्राउ परिसकेका छन् ।
