काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री र पार्टी सभापतिबीच कुनै मतभेद नरहेको बताएका छन्।
आइतबार चीन भ्रमणमा प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री आचार्यले पार्टी र सरकार एउटै लय र चरणमा अघि बढिरहेको बताएका हुन्।
उनले सभापति र प्रधानमन्त्रीका विषयमा साझा सुझाव आएको उल्लेख गर्दै हिजो पनि प्रधानमन्त्री र सभापतिबीच मतभेद नरहेको र आज पनि नरहेको स्पष्ट पारे। तथ्यमा आधारित रहेर सांसदहरूले उठाएका विषयमा समेत कुनै मतभेद नरहेको उनको भनाइ थियो।
सरकार रास्वपाकै भएकाले पार्टी र सरकारबीच एकअर्कालाई सचेत गराउने तथा आवश्यक प्रश्न उठाउने काम स्वाभाविक भएको आचार्यले बताए।
उनले भने, ‘सरकार रास्वपाकै हो । सरकारले बाटो बिरायो भने पार्टीले प्रश्न गर्छ । पार्टीले बाटो बिरायो भने सरकारबाट पनि प्रश्न उठ्न सक्छ।’
महामन्त्री आचार्यले पार्टीभित्र कुनै आन्तरिक विवाद नरहेको दोहोर्याउँदै पार्टी र सरकारबीच आपसी समझदारी र समन्वय कायम रहेको दाबी गरेका छन्।
