काठमाडौं, २९ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुकमा सङ्घीयता लागू भएको एक दशक बितिसक्दा पनि प्रदेश संरचनाको औचित्य पुष्टि हुन नसकेको भन्दै यसलाई खारेज गर्नुपर्ने धारणा अघि सारेका छन ।
सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष थापाले सङ्घीयताका पक्षधरहरूसँग प्रदेश संरचनाको महत्त्व र आवश्यकताका विषयमा प्रश्न उठाएका हुन । उनले विगत १० वर्षको अवधिमा प्रदेश संरचनाबाट सर्वसाधारण जनता र राष्ट्रले के ठोस फाइदा पाए भनी जिज्ञासा राखेका छन ।
अध्यक्ष थापाले प्रदेश संरचना नभएको भए देशलाई के नोक्सान पर्थ्यो भन्ने प्रश्न गर्दै यो संरचना केही व्यक्ति विशेषको लहडमा लादिएको आरोप लगाउनुभएको छ । देशको अर्थतन्त्रले धान्नै नसक्ने गरी खर्चिलो बनेको वर्तमान प्रदेश संरचनाबारे अब पुनर्विचार गर्ने बेला आएको उनको भनाइ छ ।
विगत एक दशकको अनुभवले प्रदेश संरचना केवल राजनीतिक अस्थिरता, अराजकता र भ्रष्टाचारको अखडा मात्र बनेको देखिएको थापाले उल्लेख गरे ।
उनले हालको बोझिलो प्रदेश संरचना खारेज गरेर बरु विद्यमान स्थानीय सरकारको अवधारणालाई अझ अधिकारसम्पन्न र सशक्त बनाएर अघि बढ्नु नै देशको हितमा उपयुक्त हुने सुझाव समेत दिएका छन् ।
