• Saturday 28th of November 2026

अब नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउन नपर्ने, अन्य जिल्लाबाटै लिन सकिने


  • धनकुटा खबर
  • .

काठमाडौं। अब नागरिकताको प्रतिलिपि लिनका लागि नागरिकता जारी भएको गृह जिल्लामै पुग्नुपर्ने बाध्यता हटेको छ। नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ ले अन्य जिल्लाबाटै नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था गरेको हो।

नियमावलीको नियम १६ घ मा गरिएको व्यवस्थाअनुसार नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका व्यक्तिले निश्चित अवस्थाहरूमा आफू बसेकै जिल्लाबाट प्रतिलिपि लिन सक्नेछन्।

नयाँ व्यवस्थाअनुसार नागरिकताको प्रमाणपत्र आगलागी वा पानीले भिजेर नष्ट भएमा, च्यातिएर काम नलाग्ने अवस्थामा पुगेमा, हराएमा वा नयाँ ढाँचामा आवश्यक परेमा अन्य जिल्लाबाट प्रतिलिपि लिन सकिनेछ।

यसका लागि सम्बन्धित व्यक्तिले अनुसूची–१८ बमोजिमको ढाँचामा आफू रहेको जिल्लाका प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ।

निवेदनसँगै नागरिकता च्यातिएर काम नलाग्ने भएको वा नयाँ ढाँचामा आवश्यक परेको अवस्थामा सक्कल नागरिकता पेस गर्नुपर्नेछ। आगलागी वा पानीले नष्ट भएको अथवा हराएको अवस्थामा भने नागरिकताको प्रतिलिपि संलग्न गर्नुपर्ने व्यवस्था छ।

त्यसैगरी राष्ट्रिय परिचयपत्रको प्रतिलिपि वा राष्ट्रिय परिचय नम्बर खुल्ने कागजातसमेत अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।

निवेदन प्राप्त भएपछि प्रमुख जिल्ला अधिकारीले दुईवटा डिजिटल प्रणालीमार्फत सम्बन्धित व्यक्तिको विवरण रुजु गर्नेछन्। पहिलो चरणमा नागरिकता सूचना व्यवस्थापन प्रणालीमा रहेको विवरणसँग निवेदकले पेस गरेको विवरण भिडाइनेछ।

त्यसपछि निवेदकको जैविक विवरण लिएर राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा रहेको विवरणसँग रुजु गरिनेछ।

दुवै प्रणालीबाट विवरण यकिन भएपछि नागरिकता सूचना व्यवस्थापन प्रणालीमा रहेको विवरणका आधारमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले नागरिकताको प्रतिलिपि जारी गर्न सक्ने व्यवस्था नियमावलीले गरेको छ।

नयाँ व्यवस्थाले रोजगारी, अध्ययन तथा अन्य कारणले गृह जिल्लाभन्दा बाहिर बसोबास गर्दै आएका नागरिकलाई नागरिकताको प्रतिलिपि लिन सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖