• Sunday 29th of November 2026

प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी, मंसिर ६ देखि ८ गतेसम्म दिल्ली जाने सम्भावना


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह छिमेकी मुलुक भारतको औपचारिक भ्रमणको तयारीमा जुटेका छन्। सरकारले भ्रमणको औपचारिक मिति सार्वजनिक गरिनसके पनि प्रधानमन्त्री बालेन मंसिर ६ देखि ८ गतेसम्म भारत भ्रमणमा जाने गरी तयारी भइरहेको परराष्ट्र स्रोतले जनाएको छ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले भ्रमणको मिति र एजेन्डा सार्वजनिक गर्ने बताइएको छ।

यसपटकको भ्रमणमा विगतमा सरकार प्रमुख विदेश भ्रमणमा जाँदा र फर्कँदा देखिने अनावश्यक तामझाम, लामो सवारी लावालस्कर र कार्यकर्ताको भीड नहुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्रोतले जनाएको छ। सादगीपूर्ण कार्यशैली अपनाउँदै आएका प्रधानमन्त्री बालेनले भारत भ्रमणका क्रममा पनि राज्यको स्रोतसाधन प्रयोग गरेर गरिने भड्किलो शक्ति प्रदर्शनलाई निरुत्साहित गर्ने तयारी गरेको बताइएको छ।

यसअघि संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाँदा पनि प्रधानमन्त्रीले सडक तथा विमानस्थलमा कुनै तामझाम गरेका थिएनन्।

नेपाल–भारत सम्बन्धलाई थप विस्तार गर्ने उद्देश्यसहित यसपटकको भ्रमणमा कनेक्टिभिटी, पूर्वाधार विकास, ऊर्जा, सिँचाइ र पर्यटनलाई मुख्य एजेन्डा बनाउने सरकारको तयारी छ।

प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारीका लागि भारतीय विदेश सचिव विक्रम मिश्री गत कात्तिक १९ गते काठमाडौं आएका थिए। उनले प्रधानमन्त्री बालेनसहित सम्बन्धित मन्त्रालयका नेतृत्वसँग भेटवार्ता गरेका थिए। उक्त भेटले दुई देशबीचको कूटनीतिक संवादलाई थप तीव्रता दिएको बताइएको छ।

यसअघि नेपाली प्रधानमन्त्रीहरू विदेश भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, विपक्षी दलका नेता तथा परराष्ट्र मामिलाका जानकारहरूसँग परामर्श गर्ने अभ्यास रहँदै आएको थियो। राष्ट्रिय सहमति र कूटनीतिक परिपक्वताको सन्देश दिन गरिने यस्तो अभ्यासलाई यसपटक प्रधानमन्त्री बालेनले निरन्तरता नदिएको समाचारमा उल्लेख छ।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाँदाजस्तै भारत भ्रमणअघि पनि प्रधानमन्त्रीले विपक्षी दल तथा पूर्वप्रधानमन्त्रीहरूसँग संवाद गरेका छैनन्। यस्तै, सत्तारुढ रास्वपाले पनि प्रधानमन्त्रीको भ्रमणबारे औपचारिक सुझाव सार्वजनिक गरेको छैन।

प्रधानमन्त्री बालेनको भारत भ्रमणले नेपाल–भारत सम्बन्धमा कस्तो कूटनीतिक र व्यावहारिक परिणाम ल्याउँछ भन्ने कुरा भने भारतीय समकक्षी नरेन्द्र मोदीसँग हुने भेटवार्ता र दिल्लीमा गरिने संवादमा निर्भर रहनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖