काठमाडौँ । निर्वाचन आयोगले आगामी चैत पहिलो साता स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी थालेको छ। संविधान र कानुनमा भएको व्यवस्थाअनुसार निर्वाचन मिति घोषणा गर्न आवश्यक छलफल भइरहेको आयोगले जनाएको छ।
निर्वाचनको वातावरण बनाउन आयोगले आगामी मंसिर ४ गते राजनीतिक दलहरूलाई छलफलका लागि बोलाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राजनीतिक दलहरूसँगको छलफलपछि निर्वाचनको मिति र तयारीबारे निष्कर्षमा पुगिनेछ।
‘संविधान र कानुनअनुसार नै निर्वाचन मिति घोषणा हुन्छ। निर्वाचनको वातावरण तथा पूर्वतयारीका लागि मंसिर ४ गते राजनीतिक दलहरूलाई छलफलका लागि बोलाएका छौँ,’ प्रवक्ता भट्टराईले सोमबार बताएका छन्।
उनका अनुसार चैत महिनाभित्रै निर्वाचन सम्पन्न गर्ने गरी आयोगमा छलफल भइरहेको छ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ मा गाउँसभा वा नगरसभाका सदस्यको निर्वाचन सम्बन्धित सभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि गर्नुपर्ने व्यवस्था छ। संवैधानिक व्यवस्थाअनुसार निर्वाचन आयोगको सिफारिसमा सरकारले निर्वाचनको मिति घोषणा गर्नेछ।
