काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाका लागि आवेदन खुलाएको छ।
आयोगले मंगलबार सूचना प्रकाशित गर्दै न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारबाट मंसिर ७ गतेदेखि अनलाइन दरखास्त आह्वान गरेको हो।
आयोगका अनुसार उम्मेदवारले पुस ७ गते राति १२ बजेसम्म एकल दस्तुरमा आवेदन दिन सक्नेछन्। उक्त अवधिमा आवेदन दिन नसक्नेले दोब्बर दस्तुर तिरेर पुस १४ गते राति १२ बजेसम्म दरखास्त पेस गर्न सक्नेछन्।
आवेदन दिँदा उम्मेदवारले हालसालै खिचेको पासपोर्ट साइजको फोटो, दस्तखतको नमुना, न्यूनतम शैक्षिक योग्यताको लब्धाङ्कपत्र र तालिमको प्रमाणपत्रलगायत आवश्यक विवरण तथा कागजात अनलाइन फाराममा अपलोड गर्नुपर्नेछ।
परीक्षासम्बन्धी योग्यता, आवेदन प्रक्रिया र अन्य विस्तृत विवरण शिक्षक सेवा आयोगको आधिकारिक वेबसाइटमा प्रकाशित सूचनामा हेर्न सकिनेछ।
