• Wednesday 7th of October 2026

कप्तान आशालता बनिन् १०० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने पहिलो भारतीय महिला फुटबलर


  • धनकुटा खबर
  • .

कप्तान आशालता देवी पाकिस्तानविरुद्ध साफ च्याम्पियनसिपको उद्घाटन खेलमा मैदान उत्रिएपछि १०० अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो भारतीय महिला फुटबलर बनेकी छन्।

३१ वर्षीया आशालताले मार्च २०११ मा बंगलादेशविरुद्ध ढाकामा प्रि-ओलम्पिक प्रतियोगिताबाट भारतमा डेब्यु गरेकी थिइन्। त्यसयता स्टार डिफेन्डरको लामो यात्रा तय गरेकी उनले नेपाली मैदानमा सय अन्तर्राष्ट्रिय प्रतियोगिता पूरा गर्ने खेलाडीको कीर्तिमान बनाउँदै थिइन्। त्यसैले उनी निकै उत्साहित पनि थिइन्।

तर, बिहीबार दरशथ रंगशालामा पाकिस्तानविरूद्धको खेलमा भने उनले गल्ती गरेकी थिइन्। पहिलो हाफको इन्ज्युरी समयमा उनले गरेको गल्तीकै कारण पाकिस्तानले पेनाल्टी पायो।

भारतीय कप्तान आशालताले पाकिस्तानी नादिया खानलाई लडाएपछि पाकिस्तानले पेनाल्टीको अवसर पाएको थियो। पेनाल्टीमा पाएको मौकालाई पाकिस्तानकी सुहा हिरानीले खेर जान दिइनन्। गोल गरिन्।

यद्यपि, भारतले ५-२ को फराकिलो गोल अन्तरले जित हात पारेको छ, आशालताको कप्तानीमा।

खेल सकिएपछि उनले अधिक उत्साहित हुनु राम्रो नभएको प्रतिक्रिया दिइन्। उनले भनिन्, ‘आजको खेलमा एक्साइटमेन्टको कारण गल्ती गर्न पुगेँ। त्यो राम्रो होइन। आगामी दिनमा अझै राम्रो गर्ने प्रयास गर्नेछु।’

उनले आफ्नो यस यात्राले भावी पिँढीलाई थप ऊर्जा प्रदान गर्ने आशा पनि व्यक्त गरिन्। उनले भनिन्, ‘भारतलाई अझै अर्को लेबलमा पुर्याउने लक्ष्य छ। मभन्दा जुनियर खेलाडीले अझै राम्रो गरेर १०० प्रतियोगिताभन्दा धेरै खेलून् भन्ने चाहन्छु। उनीहरूले साफमा अझै राम्रो गरेर यो प्रदर्शनलाई निरन्तरता दिन सकून् भन्ने चाहन्छु।’

आशालता देवीलाई सन् २००८ मा १५ वर्षकी हुँदा भारतको यू-१७ टोलीमा बोलाइएको थियो। मणिपुरको इम्फालमा जन्मेकी उनले १३ वर्षकै उमेरमा फुटबल खेल्न थालेकी थिइन्। उनी सुरुमा भारतीय रेलवे फुटबल टोलीसँग थिइन् र २०१५ मा माल्दिभ्सको न्यू रेडियन्ट वुमेन्स फुटबल क्लबमा सामेल भइन्।

पछि उनले भारतीय महिला लिगमा विभिन्न क्लबबाट खेलिन्। सन् २०१६ र २०१९ मा गरी दुई दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जिताउँदा भारतीय टोलीकै एक हिस्सा थिइन्। उनी सन् २०१२, २०१४, २०१६ र २०१९ मा लगातार चारपटक साफ महिला च्याम्पियनसिप जित्ने टोलीमा रहिन्।

२०१९ मा उनले एएफसी महिला प्लेयर अफ द इयरको लागि मनोनयनमा परेकी थिइन्। सन् २०१८/१९ मा एआईएफएफ महिला प्लेयर अफ द इयर घोषित भएकी थिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖