• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

छविको घरबाट बरामद हार्ड डिस्कमा भेटियो सानो पाइला सहकारीको रकम गोर्खा मिडियामा सारिएको प्रमाण


  • धनकुटा खबर
  • .

काठमाडौं । पर्साको वीरगन्जस्थित आदर्शनगरमा रहेको सानो पाइला बचत तथा ऋण सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा साढे ८ करोड रुपैयाँ सारेर अपचलन गरेको भेटिएको छ ।

गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशीको घरबाट बरामद हार्ड डिस्क अनुसन्धान गर्दा प्रहरीले सानो पाइला सहकारीको रकम गोर्खा मिडियामा सारिएको फेला परेको हो। सानो पाइलाबाट रकम सार्दा गोर्खा मिडियामा रवि लामिछाने प्रबन्ध निर्देशक रहेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सहकारीको बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदनअनुसार ग्लोबल आईएमई बैंकमा रहेको गोर्खा मिडियाको खातामा सानो पाइलाबाट सात पटक गरी आठ करोड ५८ लाख ४४ हजार रुपैयाँ जम्मा गरेको भेटिएको हो । २०७८ साउन १९ मा एकै दिन चार करोड ९१ लाख ९४ हजार रुपैयाँ सारिएको छ भने थप रकम ०७८ वैशाख ५ देखि ०७९ साउन १९ सम्ममा सारिएको हो।

सानो पाइलाका बचतकर्ताहरूले रकम हिनामिनाबारे एक वर्षअघि उजुरी दिँदा गोर्खा मिडियामा सहकारीबाट रकम सारिएको प्रमाण फेला परेको थिएन।

यसैबीच सानो पाइला सहकारीको बचत हिनामिनाका थप अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी दीपक भारतीले जानकारी दिनुभएको छ ।

एक वर्षअगाडि सानो पाइला सहकारीका १ सय ७९ बचतकर्ताले संस्थाका सञ्चालक समिति, लेखा समिति तथा कर्मचारीविरुद्ध उजुरी दिएका थिए। त्यतिबेला प्रहरीले पर्याप्त अनुसन्धानै नगरी हतारमा मुद्दा अघि बढाएको बचतकर्ताको गुनासो छ।

प्रहरी अनुसन्धानपछि जिल्ला अदालत पर्सामा मुद्दा दायर गरिएकामा सानो पाइला सहकारीकी पूर्वउपाध्यक्ष नेहा पौडेल गत साउन २१ मा एक करोड १० लाख रुपैयाँ धरौटीमा रिहा भइन्। सहकारीका कर्मचारी राधेचन्द्र यादव पनि ३५ लाख रुपैयाँ धरौटीमा रिहा भए । प्रहरीका अनुसार सानो पाइला सहकारीका अध्यक्ष अनन्तबाबु राई, सचिव देवेन्द्रबाबु राई, प्रबन्धक असरफ अली सिद्धिकी, संरक्षक गीतेन्द्र बाबु (जीबी) राईलगायत ११ जना फरार छन्। कोषाध्यक्ष कुमार रम्तेल भने पुर्पक्षका लागि थुनामा छन्।-कान्तिपुर टीभी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖