• Tuesday 6th of October 2026

सशस्त्र प्रहरीको मृत्यु, दशरथचन्द राजमार्ग अवरुद्ध


  • धनकुटा खबर
  • .

बैतडी। गाडीको ठक्करबाट बैतडीमा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ। मृत्युु हुनेमा पाटन नगरपालिका-८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरास्थित आश्रित गुल्ममा कार्यरत हबल्दार ४० वर्षीय नरेन्द्रसिंह महरा रहेका छन्।

बाजुराबाट घर आइरहेका महरालाई दशरथचन्द राजमार्गअन्तर्गत हरिचन मोडमा गाडीले बिहान ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

बाजुराबाट बझाङ जाने गाडीमा घर आएका महरा खोड्पे बजारमा झरेका र खोड्पेबाट हिँडेर घर आइरहेका बेला उनलाई गाडीले ठक्कर दिएको बताइएको छ। महरालाई ठक्कर दिने गाडीको पहिचान हुनसकेको छैन।

यसैबीच महरालाई ठक्कर दिने गाडीको पहिचान गर्न माग गर्दै मृतकका आफन्तले अहिले दशरथचन्द राजमार्ग अवरुद्ध पारेका छन्।

राजमार्ग अवरुद्ध हुँदा अहिले तराईबाट बैतडी तथा दार्चुलाका लागि छुटेका सवारीसाधन बीचबाटोमै रोकिएका छन्। घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ। महरालाई ठक्करदिने सवारीको पहिचान गर्ने कार्य र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖