• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

कार्तिक २३ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ५ महिनासम्म १० घण्टा बन्द


  • धनकुटा खबर
  • .

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ। विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन काम गर्नुपरेकोले दैनिक १० घण्टा बन्द हुने भएको बताइएको छ।

विमानस्थलको धावनमार्गको क्षमता अभिवृद्धिका लागि दैनिक १० घण्टाका दरले काम गर्दा करिव ५ महिना लाग्ने हुँदा कार्तिकमा नै काम गर्नुपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्ट पारेको छ।

गर्मी याममा काम गर्न नसकिने, त्यसै बेला मनसुन पनि हुने भएकोले अहिलेको समय मात्र विकल्प भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिए। महानिर्देशक इन्जिनियर अधिकारीले रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गरेर सो विमानस्थलको कार्य क्षमता बढाउने काम गर्न लागिएको बताए।

महानिर्देशक अधिकारीले सो कामको योजना करिव ८ महिना अघि देखिकै भएकाले यसलाई भैरहवा अन्तर्राष्ट्रिय राष्ट्रिय विमानस्थलको उडानसँग जोडेर नहेर्न पनि आग्रह गरे।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्य क्षमता अभिवृद्धिका लागि शुरु गर्न लागिएको सो काम विशुद्ध व्यावसायिक भएकाले यसलाई कुनै पनि खालको रणनीति वा राजनीतिक नभएको महानिर्देशक अधिकारीको स्पष्टीकरण थियो। उनले धावनमार्गको स्तरोन्नतिको काममा सबै क्षेत्रका वायुसेवा प्रदायक संस्थाबाट सहमति लिइएको बताए। हिउँद महिनामा कम उडान हुने भएकाले पनि विमानस्थलको धावनमार्ग स्तरोन्नतिको कामलाई अघि बढाउन लागिएको पनि प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖