• Tuesday 6th of October 2026

इलाम–२ उपनिर्वाचन : झलनाथ खनालले पनि बनाए उठ्ने मन, एमालेले के गर्ला ?


  • धनकुटा खबर
  • .

काठमाडौं, १० असोज । निर्वाचन आयोगले रिक्त रहेको इलाम–२ मा आगामी वैशाखमा उपनिर्वाचन गर्ने तयारी गरेको छ । सो क्षेत्रबाट निर्वाचन जितेका एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो । ०४८ सालदेखि निरन्तर सो क्षेत्रबाट चुनाव जित्दै आएका नेम्वाङको विरासत कसले बोक्ला भनेर अहिले एमालेभित्र चर्चा सुरु भैसकेको छ।

नेम्वाङ्का कान्छो छोरा सुहाङ्ले सक्रिय राजनीति गर्ने पनि चर्चा चलेको छ। उनी बुवाको शोकसभालाई सम्बोधन गर्न गृहजिल्ला इलाम पनि पुगिसकेका छन् । सुहाङ्ले बुवाको पदचापलाई शिरोधार्य गर्ने र बुवाका अधुरा सपना पूरा गर्ने अठोट गरेका छन् ।

तर, त्यसको लागि उनले पार्टीको आड र भरोसा खोजेका छन् । सुहाङ्ले उपनिर्वाचन लड्न मन गरे पार्टीले सहयोग नै गर्ने एमाले शीर्ष नेताहरुको प्रतिक्रिया छ । इलाम–२ को उपनिर्वाचनलाई लिएर धेरैले एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) बनाएका पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि चुनाव लड्न चाहेको चर्चा गर्न थालेका छन् ।

खासगरी नेम्वाङको सम्झनामा एमालेले संविधान दिवसको अवसरमा असोज ३ गते पार्टी मुख्यालयमा आयोजना गरेको ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा एमाले नेतृत्वले झलनाथ खनाललाई पनि वक्ताको रुपमा बोलाएको थियो । नेम्वाङ र खनाल सहपाठी हुन् । खनालले नै आफूहरुबीच बाल्यकालदेखि नै सुमधुर र घनिष्ठ सम्बन्ध रहेको खुलासा गर्दै आएका छन् ।

पछिल्लो समय खनालले एकीकृत समाजवादी त्यागेर एमालेमै फर्किने तयारी गरेको पनि गाईंगुईं चल्ने गरेको छ । पार्टीभित्र भने अध्यक्ष माधवकुमार नेपाल र खनालबीच अहिले पानी बाराबारको सम्बन्ध छ । अध्यक्ष नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनलाई पनि खनालले सार्वजनिक रुपमै चूनौति दिएका थिए ।

खनालको चूनौतिको कारण माधव नेपाल अपानी फिर्ता लिन बाध्य भएका थिए । खनालले पनि आफूलाई इलाम–२ का धेरै नेता तथा कार्यकर्ताले फोन गरेर चुनाव लड्न आग्रह गरेको खुलासा गरेका छन् । तर, उनले एमाले र एकीकृत समाजवादीको साझा उम्मेद्वारको रुपमा प्रस्ताव आए सोच्न सकिने प्रतिक्रिया दिएका छन् । एमालेका दोस्रो तहका नेताहरुले भने सुवास नेम्वाङ्को परिवारकै सदस्यहरुमध्ये राजनीतिमा आउन चाहना राख्नेलाई नै उम्मेद्वार बनाउनुपर्ने कुरा नेतृत्वसमक्ष दबाब दिन सुरु गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖