काठमाडौँ — भक्तपुरको हनुमानघाटमा रहेको १८औं शताब्दीको गणेश आकृति बेलायतको लन्डनस्थित कला–सम्पदाका अर्न्तराष्ट्रिय डिलर जोन एस्केनाजीको संग्रहमा फेला परेको छ ।
सन् १९८० दशकको सुरुवातमा चोरिएको उक्त मूर्ति हनुमानघाटमा रहेको पुरातात्विक शिवलिङ्ग मन्दिर परिसरमा रहेको थियो । उक्त शिवलिङ्ग राजा भूपतीन्द्र मल्लले सम्वत १७१२ मा स्थापना गरेका थिए ।
चोरिएका/हराएका सम्पदाको खोजबिन, प्रमाणीकरण र घरफिर्ती अभियानमा संलग्न ‘लस्ट आर्टस् अफ नेपाल’का अनुसार, कला अन्वेषक लैनसिंह वाङ्गदेलको कृति ‘इन्भेन्ट्री अफ स्टोन स्कप्चर्स अफ द काठमाडौं भ्याली(१९९५)’मा गणेश मूर्तिबारेको सचित्र विवरण उल्लेखित छ ।
डिलर जोन एस्केनाजीले इन्डियन, गान्धारान, हिमालयन र दक्षिण–पूर्वी एसियाली कलाको संकलन गर्दै आएका थिए ।
‘जोन एस्केनाजी लिमिटेड, एसियन आर्ट’ नाममा रहेको डिलर कम्पनीका तर्फबाट १९९९, नवेम्भर ९–२० मा आयोजित एसियाली प्रर्दशनीको कला विवरण(क्याटलग)मा गणेश मूर्ति उल्लेख गरिएपछि यो सम्पदाको उत्पत्तिको थलो तथा प्रामाणिकताबारे खोजी सुरु भएको थियो । अर्का स्वीस अध्येता उल्रिच भोन स्क्रोडरले उनको पुस्तक ‘नेपाल्जि स्टोन स्कल्प्चर्स, भोल्युम–१’मा समेत प्रकाशित छ ।
गणेश मूर्तिबारेको तस्बिर र विवरण क्याटलगबारे सम्पदा अध्येता डा.एमिलिन स्मिथले अवगत गराएपछि ‘लस्ट आर्टस् अफ नेपाल’ले यसबारेको प्रामाणिकता पहिल्याएको थियो ।-कान्तिपुर
