• Tuesday 6th of October 2026

रवि – १५ दिन पार्टीको गतिविधि नगरेर जनताको धान काट्नुस्


  • धनकुटा खबर
  • .

काभ्रेपलाञ्चोक। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताका स–साना समस्या तथा मुद्दामा राहात दिलाउनु राजनीतिक दलको कर्तव्य भएको बताएका छन्।

काभ्रेपलाञ्चोकको बनेपामा आज आयोजित पार्टीको नगर विस्तार भेलालाई सम्बोधन गर्दै उनले जनताका मुद्दामा केन्द्रित भएर आफूहरु अघि बढेको जिकिर पनि गरे।

“हामी जनताका साना–साना मुद्दामा ध्यान दिन्छौँ, उहाँहरुका काममा साथ दिन चाहान्छौँ, चिनीको मूल्य घटाउनेतर्फ पनि अब सम्बन्धित ठाउँमा पुग्नेछौँ, सडक तताउँदैनौँ”, पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले भने।

उनले आफ्ना नेता तथा कार्यकर्ताले जनतालाई सडकमा आउ भन्ने होइन, अब धान काट्न बोलाउनुस् भनेर जनतासँग आग्रह गर्नुपर्नेमा जोड दिए।

सभापति लामिछानेले भने, “अब १५ दिन पार्टीको गतिविधि नगरेर भए पनि जनताकोमा गएर धान काट्नुस् ।” उनले फरक प्रसङ्गमा बेथितिमा थिति बसाल्ने पार्टीलाई जनताले मन पराउनेमा जोड दिए।

“हामी भइरहेको व्यवस्थालाई परिवर्तन गरी अवस्था बदल्न हिँडेका हौँ, अब निर्वासन र भूमिगत बन्नुपर्ने अवस्था छैन, जनता पनि दुःखी बन्नुपर्दैन, उहाँहरुले बेथितिमा थिति बसाल्ने पार्टीलाई मन पराउनुहुन्छ ।”, उनले भने।

रास्वपाले भ्रष्टाचारलगायत आपाराधिक घटनाका विषयमा संसद्बाट विरोध जनाएको र अब एकैपटक २०८४ मा मात्रै बोल्ने नेता लामिछानेले बताए।

“हामी आम नागरिकलाई सास्ती हुनेगरी जनतालाई सडकमा उतार्दैनौँ, सबै बेथितिको अन्त्य आउँदो २०८४ को निर्वाचनले गर्नेछ”, उनले भने।

कार्यक्रममा रास्वपा सांसद मनिष झाले हरेक आयोजना सञ्चालन गर्दा भविष्यलाई मध्यनजर गर्नुपर्ने आवश्यकता औँल्याए ।

पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाईंले रास्वपाले जनताका आवश्यकतालाई मसिनो ढङ्गले अध्ययन गरी समाधान गर्दै जाने बताए। सो अवसरमा रास्वपाका नेता रमेश खरेल, जिल्लाध्यक्ष प्रवीण ढकाललागायतले नगर भेलालाई शुभकामना दिएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖