काठमाडौं महानगरपालिकाले सानो गौचरन फुटबल मैदानको पुनर्निर्माण सुरु गरेको छ । बिहीबार महानगरकी उपप्रमुख सुनिता डंगोलले रंगशाला पुनर्निर्माणको कामको शिलान्यास गरेकी हुन् ।
२२ करोड ९५ लाख ९३ हजार ९९९ लागत अनुमान गरिएको काम गर्न आह्वान गरिएको बोलपत्रबाट १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपैयाँ कबोल गरेर शुभ कन्स्ट्रक्सनले पुनःनिर्माणको जिम्मेवारी पाएको छ । रंगशाला पुनर्निर्माणको शिलान्यास गर्दै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले महानगरपालिकाले खेल पूर्वाधारमा लगानी बढाएको बताइन् ।
‘सन्तुलित विकासका लागि भौतिक निर्माणसँगै आर्थिक र सामाजिक विकाससँगै लैजानुपर्छ । यस क्रममा खेलकुदलाई विकासको आयामसँगै अगाडि लैजाने कार्यक्रमअन्तर्गत रंगशाला पुनर्निर्माण गर्न लागेका हौँ,’ उनले भनिन् । विद्यालय स्तरबाट खेलाडी उत्पादनका लागि कार्यक्रम सञ्चालन भइरहेको बताउँदै उनले यो प्रयासबाट राष्ट्रिय पहिचान दिन सक्ने खेलाडी प्राप्त हुने बताइन् ।
वडामा रंगशाला पुनर्निर्माणले स्थानीय विकासलाई उचाइमा लैजाने वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापतीले बताए । रंगशालाको डिजाइन र लागत अनुमान शहरी योजना आयोगले तयार पारेको हो । यसलाई सार्वजनिक निर्माण विभागले कार्यान्वयनमा ल्याएको हो । रंगशालामा ९६×६२ मिटरको खेल मैदान हुनेछ । मैदानमा आकाशे पानी निकास प्रणालीसहितको कृतिम घाँस राखिनेछ ।
वरिपरि सीमा पर्खाल हुनेछ । यसमा २८ वटा चार पाङ्ग्रे र १७८ वटा २ पाङ्ग्रे सवारी साधन अट्ने क्षमताको पार्किङ हुनेछ । रंगशालाको भुइँ तलामा महिलाका लागि २३ वटा र पुरुषका लागि १६ वटा शौचालय हुनेछन् । पहिलो तलामा ७ वटा महिलाका लागि र ५ वटा पुरुषका लागि शौचालय हुनेछन् ।
रंगशालामा एउटा फिजियोथेरापी कक्ष, ३-३ वटा पुरुष र महिलाका लागि चेन्जिङ रुम, एउटा प्राथमिक उपचार कक्ष र २ वटा टिम लकर हुनेछन् । निर्माण कामको सार्वजनिक खरिदका लागि ३ वैशाख २०८१ मा सार्वजनिक सूचना जारी भएको थियो । रंगशाला निर्माणको काम २०८२ चैत मसान्तभित्र सम्पन्न हुनेछ । रंगशाला १८ रोपनी १ आना २ पैसा ३ दान (९२११.५ वर्गमिटर) क्षेत्रफलमा निर्माण हुनेछ । रंगशालाको दर्शक क्षमता १ हजार ५ सय जनाको हुनेछ ।
