• Monday 5th of October 2026

रोयल ब्लुले कुशल मल्ल र दीपेन्द्र ऐरीलाई दुई–दुई लाखले सम्मान गर्ने


  • धनकुटा खबर
  • .

रोयल ब्लुले बुधबार मंगोलिया विरुद्ध भएको एसियाली खेलकुदको ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा विश्व रेकर्ड राख्न सफल दुई खेलाडीलाई दुई–दुई लाख रुपैयाँ नगदसहित सम्मान गर्ने भएको छ।

रोयले ब्लुले खेलाडी कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीलाई दुई–दुई लाख रुपैयाँसहित सम्मान गर्न लागेको बिहीबार जनाएको छ। बुधबार चीनको हानझाउस्थित झेजियाङ युनिभर्सिटी क्रिकेट मैदानमा भएको खेलमा यी दुई खेलाडीले विश्व कीर्तिमान राखेका छन्।

युवा ब्याटर कुशल मल्लले ट्वान्टी–२० क्रिकेटमा सबैभन्दा छिटो शतक पूरा गर्दै भारतीय कप्तान रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलरसहित तीन क्रिकेटरको कीर्तिमान भंग गरेका थिए । उनी १३७ रनमा नटआउट रहे।

अर्का खेलाडी दीपेन्द्रसिंह ऐरीले भारतीय पूर्वब्याट्सम्यान युवराज सिंहको नाममा रहेको कीर्तिमान पनि पछि पारे। दीपेन्द्रले ९ बलमा नै अर्धशतक पूरा गर्दै ट्वान्टी–२० मा सबैभन्दा छिटो अर्धशतकको कीर्तिमान बनाए। युवराज सिंहको नाममा १२ बलमा अर्धशतकको कीर्तिमान थियो। दीपेन्द्र १० बलमा ५२ रनमा नटआउट रहे। यस क्रममा दीपेन्द्रले पहिलो ९ बलमा नै आठ छक्का प्रहार गरे।

नेपालका कुशल मल्लले १२ छक्का र दीपेन्द्रसिंह ऐरीले आठ छक्का हिर्काए। कुशलले ३४ बलमा नै शतक पूरा गर्दै रोहित, मिलर र चेक रिपब्लिकका सुदेश विक्रमासेकराको नाममा रहेको ३५ बलमा शतकको कीर्तिमानलाई पछि परेका हुन्। यस क्रममा नेपालले निर्धारित २० ओभर खेल्दै तीन विकेटको क्षतिमा मंगोलियाविरुद्ध ३१४ रनको विश्व कीर्तिमानी योगफल पनि खडा गर्‍यो।

यो योगफल ट्वान्टी–२० क्रिकेटमा ३६ रन बढीले सबैभन्दा विशाल पनि हो। यसअघि सन् २०१९ मा अफगानिस्तानले (आयरल्यान्डविरुद्ध २७८/३) र चेक रिपब्लिकले (टर्कीविरुद्ध २७८/४) संयुक्त रूपमा ट्वान्टी–२० विशाल योगफलको कीर्तिमान बनाएका थिए। नेपालले आफ्नो इनिङमा २६ छक्का र १२ चौका प्रहार गर्‍यो। यो कुनै पनि टोलीले ट्वान्टी–२० क्रिकेटमा बनाएको सर्वाधिक छक्काको कीर्तिमान हो।

पाँचौं ओभरमा नेपाल ४२/१ को अवस्थामा हुँदा कुशल ब्याटिङ गर्न आएका थिए। नेपालले ६६ रन जोड्दा अर्का ओपनर कुशल भुर्तेल पनि आउट भए। तर, पनि कुशलले आक्रामक ब्याटिङ रोकेनन्। रोहितले २७ बलमा ६१ रन बनाए। कुशल मल्लले तेस्रो विकेटका लागि रोहितसँग १०.५ ओभरमा १९३ रनको साझेदारी गरे। रोहित आउट भएपछि खेल झन् रोमाञ्चक बन्यो।

जबाफी ब्याटिङ गरेको मंगोलिया १३.४ ओभरमा ४१ रनमै अलआउट हुँदा नेपालले २७३ रनको फराकिलो जित दर्ता गर्‍यो। यो नतिजा पनि ट्वान्टी–२० क्रिकेटमा अहिलेसम्मकै फराकिलो जित हो। नेपालले चेक रिपब्लिकले टर्कीमाथि निकालेको २५७ रनको विश्व कीर्तिमानलाई पछि पारेको हो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖