• Tuesday 6th of October 2026

एमाले बागमती अधिवेशनः सानु श्रेष्ठले पनि फिर्ता लिए अध्यक्षको उम्मेदवारी


  • धनकुटा खबर
  • .

काठमाडौ । नेकपा एमाले बागमती प्रदेश अधिवेशनमा अध्यक्षका प्रत्यासी सानु श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन्।

उनले सर्वसम्मतिका लागि आफूले उम्मेदवारी फिर्ता लिएको बताएका छन्।
‘सर्वसम्मतिका लागि नेताहरूले आग्रह गर्नुभयो। मैले उम्मेदवारी कायम राखिनँ,’ उनले भने।

अर्का उम्मेदवार केशरबहादुर बुढाथोकीले आफ्नो उम्मेदवारी कायम राखेको बताएका छन्।

‘सधैंभरि एउटै व्यक्तिलाई बोकेर हिँडिराख्ने भन्ने कुरा हुँदैन। मेरो उम्मेदवारी फिर्ता भएको हल्ला चलाइएको रहेछ। मेरो उम्मेदवारी कायम छ,’ उनले भने।

अध्यक्षमा मकवानपुरका कृष्ण दाहाल र रामेछापका कैलाश ढुंगेल पनि प्रतिस्पर्धामा छन्। उनीहरू नै मुख्य प्रतिस्पर्धी रहेको एमाले नेताहरूले बताएका छन्।

अध्यक्षका आकांक्षी दाहालले नेताहरूले सर्वसम्मतिका लागि प्रयास गरे पनि निर्वाचन नै हुने बताए।

‘एक चरण अध्यक्ष मण्डलले तपाईंहरू मिल्नुस् भनेर हामी दुई जना केन्द्रीय सदस्यहरूलाई भन्नुभएको थियो,’ उनले भने, ‘उहाँहरूको चिन्ता पार्टीमा गुटबन्दी होला भन्ने हो। हाम्रो पनि चिन्ता त्यही हो। हामी स्वस्थ्य प्रतिस्पर्धा गर्छौं।’

यसअघि अध्यक्षका अर्का प्रत्यासी निवर्तमान अध्यक्ष केशव पाण्डेले पनि उम्मेदवारी फिर्ता लिएका थिए। उनले कैलाश ढुंगेललाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको बताएका छन्।

अध्यक्ष मण्डलले सर्वसम्मतिको प्रयास गर्दा निर्वाचन तालिका सरेको सर्‍यै छ।

पछिल्लो संशोधित तालिकाअनुसार मतदानको समय भोलि बिहान ८ बजेलाई निर्धारण गरिएको छ।

बिहीबार बेलुका ८ बजेसम्म उम्मेदवारी फिर्ता र दाबी विरोधको समय रहेको र ९ बजेपछि अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जानकारी दिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖