• Tuesday 6th of October 2026

नेपाल आइपुगे विश्वविख्यात क्रिकेटर ब्रायन लारा


  • धनकुटा खबर
  • .

काठमाडौ । विश्व चर्चित क्रिकेटर ब्रायन लारा नेपाल आइपुगेका छन्। उनी शुक्रवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे। लारालाई नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीहरूले विमानस्थलमा स्वागत गरे।

लारा नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता हेर्न नेपाल आएका हुन्। छोरीसहित नेपाल आएका उनी तीन दिनसम्म नेपालमा रहने कार्यक्रम रहेको छ।

वेस्ट इन्डिजका पूर्व कप्तान ब्रायन लारा क्रिकेट इतिहासका एक उत्कृष्ट खेलाडी मानिन्छन्। टेस्ट क्रिकेटमा एकै इनिङमा नटआउट ४०० रन बनाउने कीर्तिमानका लागि उनी विशेष चर्चित छन्। लाराले टेस्ट र एकदिवसीय (ओडीआई) दुवै प्रारूपमा १०,००० भन्दा बढी रन बनाएका छन्।

५५ वर्षीय लाराले यसअघि टी-२० विश्वकपमा नेपाली टोली छनोट भएकोमा बधाई दिएका थिए। गत वर्ष एक नेपाली क्रिकेट फ्यानसँगको ट्विटर संवादमा उनले नेपाली टोलीको प्रशंसा गर्दै नेपाल भ्रमणको इच्छा व्यक्त गरेका थिए। उनले नेपाली टोलीको प्रदर्शनलाई चमत्कारिक भनेका थिए र बर्मुडामा भएको खेलले आफूलाई प्रभावित बनाएको उल्लेख गरेका थिए।

लाराले वेस्ट इन्डिजका लागि १३१ टेस्ट खेलमा झन्डै १२,००० रन र २९९ ओडीआई खेलमा १०,००० भन्दा बढी रन बनाएका छन्। उनी २००४ को च्याम्पियन्स ट्रफी जित्ने वेस्ट इन्डिज टोलीका सदस्य समेत थिए। क्रिकेट जगतमा उनलाई सम्मानपूर्वक ‘द प्रिन्स’ उपनामले चिनिन्छ।

लाराको नेपाल भ्रमणले नेपाली क्रिकेट प्रेमीहरूमा उत्साह थपेको छ भने एनपीएलमा उनको उपस्थितिले प्रतियोगितालाई थप चर्चा दिलाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖