• Tuesday 6th of October 2026

च्याम्पियन्स ट्रफीका खेल भारतले पाकिस्तानमा नखेल्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । च्याम्पियन्स ट्रफी र सन् २०२४ देखि २०२७ सम्मको आईसीसी प्रतियोगिता हाइब्रिड मोडलमा हुने भएको छ । जसअनुसार आउँदो वर्ष हुने च्याम्पियन्स ट्रफीका लागि भारत पाकिस्तान नजाने भएको छ ।

भारतका खेलहरू हाइब्रिड मोडलमा हुने क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोले जनाएको छ । यस्तै भारतमा आयोजना हुने आईसीसी प्रतियोगिताका लागि पाकिस्तानका खेलहरू भारतभन्दा बाहिर नै आयोजना हुनेछ ।

यो सम्झौता पाकिस्तानमा आउँदो वर्ष हुने च्याम्पियन्स ट्रफी, आउँदो वर्ष नै भारतमा हुने महिला एकदिवसीय विश्वकप, सन् २०२६ मा भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने टी–२० विश्वकपमा लागू हुनेछ । यो सम्झौता सन् २०२८ मा हुने महिला टी–२० विश्वकपमा पनि लागू हुनसक्ने खबरमा उल्लेख छ ।

प्रतियोगिताका लागि तटस्थ स्थान आयोजक बोर्डले प्रस्ताव गर्ने र आईसीसीले अन्तिम स्वीकृति दिने छ । आउँदो वर्ष हुने च्याम्पियन्स ट्रफीको सन्दर्भमा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) प्रस्ताव पारित भएको २४ घण्टाभित्र तटस्थ स्थान प्रस्ताव गर्नुपर्छ । च्याम्पियन्स ट्रफीका लागि भारतका खेलहरू यूएई, श्रीलङ्कामा हुनसक्ने उल्लेख छ । प्रतियोगिताको पूर्ण आयोजना अधिकार पीसीबीसँग हुनेछ ।

भारतले सुरक्षा कारण देखाउँदै पाकिस्तानमा च्याम्पियन्स ट्रफी खेल्न जान नसक्नेबारे आईसीसीलाई जानकारी गराएको थियो ।च्याम्पियन्स ट्रफीमा भारत, पाकिस्तान, अफगानिस्तान, अस्ट्रेलिया, बङ्गलादेश, इङ्ग्ल्यान्ड, न्युजिल्यान्ड र दक्षिण अफ्रिका गरी आठ वटा देश सहभागी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖