काठमाडौं । नेपाल प्रिमियर लिगको उपाधिको लागि शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।
खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ । सुदूरपश्चिम लिगमा शीर्ष स्थानमा रहँदै क्वालिफायर हुँदै फाइनल आइपुगेको पुगेको हो । जनकपुर लिगमा दोस्रो स्थानमा थियो । प्लेअफमा सुदूरपश्चिमसँग हारेको थियो ।
दीपेन्द्रसिंह ऐरीले कप्तानी गरिरहेको सुदूरपश्चिम जारी एनपीएलकै सबैभन्दा लयमा रहेको टिम हो ।
यता, जनकपुर पनि सन्तुलित टिमका रुपमा देखिएको छ । लिगमा जनकपुरको कप्तानी अनिल साहले गरेका थिए । अहिले चोटका कारण टिमको कप्तानी आसिफ सेखले गरिरहेका छन् ।
उपाधि भिडन्तमा जनकपुर यसअघि प्राप्त नमिठो हारको बदला लिने उद्देश्यसहित मैदान उत्रने छ । यसअघि लिग चरण र प्लेअफमा जनकपुरले सुदूरपश्चिमसँग हारेको थियो ।
उता सुदूरपश्चिम सोच आफ्नो लयलाई कायम राख्दै उपाधि हात पार्ने दाउमा छ । लिग चरणमा सुदूरपश्चिमले जनकपुरमाथि फराकिलो अन्तरको जित हासिल गरेको थियो ।
जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले फाइनलका लागि आफूहरूले छुट्टै योजना नबनाएको बताए । उनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘फाइनलका लागि कुनै विशेष योजना छैन । म अभ्यास खेललाई जति महत्त्व दिन्छु फाइनल खेललाई पनि उत्तिकै महत्त्व दिन्छु । मेरो लागि सबै खेल उस्तै हो ।’
उनले फाइनल खेलमा नेपाली खेलाडी नै निर्णायक बनुन् भन्ने आफ्नो चाहना रहेको पनि बताए । ‘फाइनल खेल जसले जिते पनि केही छैन । तर, जितको नायक नेपाली खेलाडी नै बनुन् भन्ने मेरा चाहना छ,’ पत्रकार सम्मेलनमा आसिफ शेखले भने ।
यसैगरी, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले पनि आफूहरू फाइनल खेलका लागि तयार रहेको बताए । उनले पनि आफ्ना लागि फाइनल खेल अन्य खेलकै जस्तो भएको प्रतिक्रिया दिए । ‘हाम्रा लागि फाइनल खेल पनि यसअघिका अन्य खेलजस्तै हो । कुनै विशेष योजना छैन,’ उनले भने ।
कप्तान दीपेन्द्रले फाइनल खेलमा आफ्ना खेलाडीले आफ्नो सम्पूर्ण क्षमता लगाएर खेल्ने बताए । सुदूरपश्चिम रोयल्सका मार्की खेलाडीसमेत रहेका दीपेन्द्रले टस जितेमा विकेटको अवस्था हेरेर ब्याटिङ वा बलिङको निर्णय लिने जानकारी पनि दिए ।
